पाल्पा ।
पाल्पाभित्र रात्रीपख टिप्पर चलाउन रोक लगाइएको छ।राति ९ बजेदेखि विहान ४ बजेसम्म तानसेन बजार हुँदै यो राजमार्गमा टिप्पर चलाउन नपाइने भएको हो।टिप्पर चलाउँदा सडक छेउका घरमा बस्ने मानिसलाई डिस्टर्ब भएको भन्दै रात्रीपख सात घण्टासम्म टिप्पर चलाउन रोक लगाइएको हो।
टिप्परका कारण जिल्लामा दुर्घटना बढेपछि अनुगमन प्रभावकारी बनाउन थालिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक उपेन्द्र बुढाथोकीले बताए। उनका अनुसार प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकले टिप्पर सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो।
साथै,राजमार्गमा टिप्पर चलाउन टाइमकार्ड लागू गरिएको छ। रिब्दीकोट गाउँपालिका–३ खस्यौलीको हार्थोकदेखि तिनाउ गाउँपालिका–२ दोभानसम्म साढे दुइ घण्टाको समय तोकिएको छ। टिप्पर गुडेको समयबारे राजमार्ग अन्तर्गत रहेका विभिन्न प्रहरी बीटमा चेक गरिनेछ। नियम उल्लंघन गर्नेमाथि कडा कारबाही हुने उनले बताए।
टिप्परको पछाडि राखिएका अनावश्यक लाइट हटाउने, सडक विभाग र तानसेन नगरपालिकासँग समन्वय गरेर सडकमा पानी छर्कने निर्णय भएको उनले बताए।
रातमा सुत्न नपाइने र दिउँसोमा धुलोसँगै भात खानुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो आएपछि आफूहरूले संस्थागत रूपमा प्रशासनलाई ज्ञापनपत्र बुझाएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताए। गरिएका निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न उनले जोड दिए।