काठमाडौं, २५ पुस सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ ।
सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिए सरकारमा जाने अडान राखेको थियो । राप्रपाको मागस्वरुप सरकारले सार्वजनिक विदा दिन लागेको हो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख गरेको थियो । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पारित गरेको छ ।
गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए । उनको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२/०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो ।