सभामुख माग्दै ४ नेताकाे बालकोट, गुरुङ र घिमिरेलाई ‘ग्रिन सिग्नल’

काठमाडौँ– नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि सभामुखसँगै राष्ट्रपति एमालेले लिने सहमति भएको थियो ।

एमालेले राष्ट्रपतिमात्र नभएर सभामुख पनि पाउने भद्र सहमति भएको बताउँदै आएको छ । सरकारको नेतृत्वझैँ सभामुख पनि आलोपालो गर्ने सहमति भएको बताइन्छ । पहिलो अढाई वर्ष एमाले र त्यसपछि माओवादी केन्द्रले सभामुख लिने सहमति छ । यो विषयमा सत्ता साझेदार अन्य दलले केही प्रतिक्रिया दिएका छैनन् ।

५ माघमा सभामुखको निर्वाचन हुने तय भइसकेको छ । यस्तोमा एमालेबाट सभामुख को बन्छ भनेर चासो बढेको छ । केही नेताले आन्तरिक रूपमा तयारीसँगै एमाले अध्यक्ष केपी ओलीसँग लबिइङ पनि थालिसकेका छन् ।

४ जना दौडमा

संघीय संसद् सचिवालयले ५ माघमा सभामुखको चुनाव गर्न सूची सार्वजनिक गरेको छ । सभामुखको निर्वाचन नजिकिँदै गर्दा सभामुखका लागि एमालेका ४ नेता अहिले बालकोट धाइरहेको एमाले स्रोतको दाबी छ ।

सभामुखका लागि एमालेबाट उपमहासचिव पृथ्वी सुब्बा गुरुङसहित सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य देवराज घिमिरे र केन्द्रीय सदस्य विद्या भट्टराई दौडमा छन् ।

भट्टराई महिला नेतृ भएका कारण सभामुखका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीमार्फत एमाले अध्यक्ष ओलीलाई लबिइङ गरिरहेको पाइएको छ । उपमहासचिव गुरूङ र सचिव विश्वकर्माले भने सीधै एमाले अध्यक्ष ओलीलाई सभामुख बन्ने इच्छा व्यक्त गरेको र उनीहरू दुवै जनाले सभामुखका लागि तयारी अवस्थामा बसेको सन्देश दिइसकेको एमालेका एक केन्द्रीय नेताले जानकारी दिए ।

उपमहासचिव गुरूङ लमजुङबाट निर्वाचित सांसद हुन् । उनी वाम गठबन्धनबाट गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत भएर साढे २ वर्ष काम गरेका छन् । यस्तै, स्थायी कमिटी सदस्य देवराज घिमिरे झापा–२ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

राष्ट्रियसभा सदस्यसमेत भएर काम गरेका घिमिरे एमाले अध्यक्ष ओली निकट नेता हुन् । उनले ओलीको सचिवालयमा बसेर समेत काम गरिसकेका छन् ।

यस्तै, एमाले सचिव छविलाल विश्वकर्मा रूपन्देही–१ बाट निर्वाचित सांसद हुन् । उनी २०६३ सालमा कृषि मन्त्री भएका थिए । पार्टीको संगठन विस्तारमा राम्रो भूमिका निर्वाह गरेका उनी एमालेभित्र कुशल नेता मानिन्छन् ।

एमाले केन्द्रीय सदस्य रहेकी विद्या भट्टराई कास्की–२ बाट निर्वाचित सांसद हुन् । तत्कालीन पर्यटन मन्त्री पति रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनमा मृत्यु भएपछि भट्टराई सक्रिय राजनीतिमा आएकी थिइन् । उनी यसअघि कास्की–२ मा भएको उपनिर्वाचनबाट पनि विजयी भएकी थिइन् ।

अहिले सभामुखका लागि यी चारै जना नेता आ–आफ्नो तर्फबाट बालकोटमा ‘सोर्स’ लगाइरहेको एमाले स्रोतले बतायो ।

सभामुखका लागि ४ जना नेताहरूले आ–आफ्नो दाबी गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले चाहेको उम्मेदवार नै सभामुख हुने एमालेका एक केन्द्रीय नेताले जानकारी दिए । अहिलेको अवस्थामा उपमहासचिव गुरुङ र केन्द्रीय सदस्य घिमिरेमध्ये १ जनालाई ओलीले सभामुख बनाउने पक्का भएको उनको भनाइ छ ।

‘अध्यक्षले आफूले नजिकबाट विश्वास गर्ने नेतालाई सभामुख बनाउने हो । अरूले दाबी गर्नेमात्र हो, दाबी त जति जनाले गरे पनि भयो नि । तर अहिलेको अवस्थामा गुरुङ र घिमिरेमध्ये एकजना सभामुख हुनुहुन्छ । अध्यक्षले कसलाई बनाउनुहुन्छ, त्यो मुख्य कुरा हो,’ उनले भने ।

अन्तिममा पार्टीभित्र विवाद भएर सहमति नबने यी सतहमा देखिएका ४ जनाभन्दा बाहेकको व्यक्तिलाई ओलीले सभामुख बनाउन सक्ने उनको भनाइ । त्यो अवस्थामा अध्यक्ष निकट व्यक्ति नै सभामुख बन्ने अवस्था आउने उनले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च