पाल्पा/ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुने बताएका छन् । उनले सरकारका लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको समेत समर्थन रहेकोले कांग्रेसको पनि समर्थन हुने उम्मेदवार राष्ट्रपति बनाउनुपर्छ भन्नेमा पार्टी रहेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले अहिले त्यही राष्ट्रिय सहमतिका लागि सबै पार्टीसंग छलफल भैरहेको बताए । चरणबद्ध रुपमा एमाले, काँग्रेस र अन्य दलहरुसंग छलफल जारी रहेको हुँदा दल र उम्मेदवारकाे अन्तिम टुंगो भने नलागेको बताए । उनले शुक्रबार साझ सम्ममा टुंगो लगाउनेगरी छलफललाई तीव्रता दिएको समेत जानकारी दिए ।
नेकपा माओवादी केन्द्र पाल्पाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले वामपन्थी तालमेल बनाएर सरकार अगाडि बढेको जस्तो देखिने तर प्रधानमन्त्रीलाई अप्ठेरोमा पार्ने काम भएको बताउँदै पुरानै गठबन्धन ब्यूताउनुपर्ने अवस्था सिर्जना हुनलागेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले अहिले माओवादी केन्द्र सरकारमा बस्नका लागि भन्दा लोकतन्त्र र संविधानसंगै अहिलेसम्म हासिल गरेको उपलब्धी संस्थागत गराउन राष्ट्रिय सहमतिमा जोड दिएको बताए । उनले जनयुद्ध र जनआन्दोलनबाट भएको उपलब्धी रक्षा गर्न र संस्थागत सुढृणीकरणका लागि काम गरिने बताए । राजनीतिक परिर्वतनलाई सामाजिक,आर्थिक परिर्वतनमा रुपान्तरण गरेर जनताको जीवनस्तर सम्वृद्ध बनाउनु अबको कार्यभार रहेको उनको भनाइ थियो ।
पार्टी बलियो बनाउन पार्टीको पुर्नगठन, बैचारिक सैद्धांन्तिक विचारको विकास, विधि र पद्धतीको विकास र जनतासंगको सम्बन्ध बलियो बनाउनुपर्ने उनले बताए । माओवादी केन्द्रले सञ्चालन गरेको दुई महिने बैचारिक, राजनैतिक तथा सांगठनिक अभियान अर्न्तगत पाल्पाको तानसेनमा आयोजित प्रशिक्षण भेलामा माओवादी केन्द्रका सचिव, लुम्बिनी प्रदेश अध्यक्ष, पूर्वमन्त्री, पूर्व सासंद तथा अन्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।