बुटवल,२० बैशाख । नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन् । स्रोतका अनुसार बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो । पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो । रायमाझी अर्घाखाँचीबाट काठमाडौँ आउँन लागेको बताउँदै सन्धिखर्कबाट बेलुका करिब साढे ५ मा हिडेका हुन । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ ।
यो प्रकरणमा गत १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बुधबार भने पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।