पाल्पा । नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात भन्दै मानव अधिकार तथा शान्ति समाज पाल्पाले दोषीहरुमाथि कारबाहीको माग गरेको छ ।
“नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर, मानव अधिकार मैत्री ऐन बनाउ, संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउ” भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाज पाल्पा शाखाद्वारा तानसेनको सित्तलपाटीमा प्रदर्शन गरेको थियो ।
कार्यक्रममा ठूला नेता मिलेका ः अरब अरब निलेका, शिर्ष नेताहरुको सम्पत्ति छानविन गर, शिर्ष नेता भ्रष्ट छन् ः नेपाली जनता त्रस्त छन्, भ्रष्टाचारको धमिराले देश खोक्रो भइसक्यो, भ्रष्टाचार हटाऊ ः लोकतन्त्र बचाऊ, भ्रष्टाचारले लोकतन्त्रलाई कमजोर बनाउँछ, भ्रष्टाचार लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो, लोकतन्त्रको सबैभन्दा ठूलो शत्रु, कुशासन र दण्डहीनता, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शिर्ष नेताहरुसहित सबैलाई कारबाही गर लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो ।
प्रदर्शनीमा बोल्दै शान्ति समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर रावलले प्रमुख दलका शिर्ष नेताहरुको गलत आचरणका कारण लोकतन्त्र र देश संकटमा पर्न थालेको बताउँदै प्रमुख दलका शिर्ष नेताहरुको तत्काल सम्पत्ति छानविन हुनुपर्नेमा जोड दिनुभयो । दोषीहरू माथि उचित छानवीन गरि कारबाही मुल प्रवाहमा ल्याउनुपर्ने बताउनु भयो ।