बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले ढिलोमा आइतबारसम्म प्रदेश सरकार बिस्तार भैसक्ने बताएका छन् ।
जनमत संचार केन्द्र नेपालद्वारा बिहिबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता पाण्डेयले ढिलोमा आइतबारसम्म प्रदेश सरकार बिस्तार भैसक्ने बताएका हुन् । गठवन्धनको सरकार भएको र सबैलाई मिलाएर जानू पर्ने भएकाले सरकार बिस्तारमा ढिलाइ भएको भन्दै उनले शुक्रबारसम्म मन्त्रालयको बाडफाड टुंगिने र आइतबारसम्म सरकार बिस्तार भैसक्ने दाबी गरे ।
उनले नेपाली कांग्रेसले ३, माओवादीले ३ र अन्य दलहरुले १/१ मन्त्रालय लिने सहमती भइसकेको बताए । सरकार विस्तारसँगै प्रदेश सभाको बर्षे अधिवेशन आह्वानका प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने तयारी भैरहेको पनि उनले जानकारी गराए । एक मन्त्रालय थप गर्ने बिषयमा छलफल भैरहेको बताउदै उनले सरकार बिस्तारपछि संघीयताको औचित्य पुष्टि गर्नेगरी काम गर्ने दाबी गरे ।
केन्द्रीय नेतृत्वमा रहेको केन्द्रीकृत मानसीकता हटिनसकेकोले संघीयता कार्यान्वयनमा अलमल भएको बताउदै प्रवक्ता पाण्डेयले सरकार बिस्तारपछि संघीयता कार्यान्वयनका लागि संघीय सरकारसँग निर्णायक बार्ता गर्ने बताए । संघीयता कार्यान्वयन नहुँदा जनताले संघीयताको अनुभुती गर्न नपाएको भन्दै उनले सरकार बिस्तारसँगै संघीयता कार्यान्वयनका लागि लबिङ गर्ने बताए । जनमत संचार केन्द्र नेपालका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।