बुटवल । लुम्बिनी प्रदेशका स्थानीय तहका महिला जनप्रतिनीधिलाई लैंङ्गिक उत्तरदायि बजेट तर्जुमाका विषयमा प्रशिक्षण गरिएको छ । लुम्बिनी प्रदेश सरकार र यु.एस.ए.आई.डि.को सार्वजनिक वित्तिय व्यवस्थापन परियोजनाको आयोजनामा शुक्रबारदेखि बुटवलमा महिला उपप्रमुखलाई प्रशिक्षण कार्यक्रम गरिएको हो । प्रशिक्षण कार्यक्रममा प्रदेशका १२ वटै जिल्लालाई समेट्नेगरी करिव ३० जना महिला उपप्रमुख सहभागि रहनु भएको छ ।
बजेट निर्माणको सन्मुखमा आयोजना गरिएको प्रशिक्षणबाट लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरणका बारेमा भएको ज्ञानमा गुणात्मक बृद्धि गराउने र लैंङ्गिक उत्तरदायी बजेट तर्जुमा प्रकृयामा स्पष्टता प्राप्त गरी योजना, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा बैज्ञानिक सीप विकास गर्ने लक्ष्य लिईएको छ ।
तीन दिने प्रशिक्षणमा प्रशिक्षकहरु राजेन्द्र अधिकारी, अर्चला दाहाल र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव सुमन घिमिरेले संघीय शासन प्रणाली र समावेशीकरण, लैङ्गिक समानता र सामाजिक समावेशीकरण मुलप्रवाहीकरणको अवस्था, उपप्रमुखको जिम्मेवारी, लैंङ्गिक समानता र सशक्तिकरण लगायतका विषयमा प्रशिक्षण गर्नुहुने यु.एस.ए.आई.डि.का प्रतिनीधि उत्सव शाक्यले जानकारी गराउनु भयो ।
यु.एस.ए.आई.डि.को सार्वजनिक वित्तिय व्यवस्थापन परियोजनाले विशेष गरी प्रादेशिक र स्थानीय तहमा सहभागितामूलक सार्वजनिक वित्तीय व्यवस्थापनमा सहयोग गर्दै आएको र नेपालको समावेशी लोकतन्त्र र समृद्धिलाई सुदृढ गर्ने उद्देश्य राखेको यो कार्यक्रमले सार्वजनिक वित्त र सेवा प्रवाहमा पारदर्शिता, निष्पक्षता र वैधता वृद्धि गर्ने उहाँले जानकारी गराउनु भयो । सन् २०२२ अक्टोबर ११ देखि सुरु भएको यो परियोजना नेपालमा सन् २०२७ अक्टोवर १० सम्म रहने छ ।