पाल्पामा तीन महिना नदीजन्य वस्तु उत्खननमा रोक

तानसेन – पाल्पामा नदी र आसपासका अन्य खोलाबाट बालुवालगायत नदीजन्य वस्तु उत्खननमा रोक लगाइएको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिले तीन महिना नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, तथा माटो निकासीमा रोक लगाएको हो । वर्षात्को समयमा विपद्का घटना बढाउने कार्य रोक्नका लागि नदीजन्य पदार्थ निकासीमा रोक लगाउने निर्णय गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

समितिको बैठकले २०८० को असार, साउन र भदौँ महिनामा जिल्लाभरि नै ढुङ्गा, गिट्टी, बालुवा तथा माटोको उत्खनन् गर्न नपाउने निर्णय गरेको बास्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीन महिना ठेक्का लागेका नदीजन्य पदार्थको समेत उत्खनन् गर्न पाइदैँन, कसैले गरे कारबाही हुन्छ ।’

उत्खनन् रोक्न जिल्लाभर नै सुरक्षाकर्मी परिचालन गरिनेछ । यस्तै विपद् व्यवस्थापन समितिको बैठकले मनसुनजन्य विपद् सम्बन्धी प्रतिकार्य योजना २०८० स्वीकृत गरेको छ । जिल्लामा हुने विपद् सम्बन्धी घटना न्युनीकरण गर्न बनेको प्रतिकार्य योजना कार्यान्वयन गरेर अघि बढ्ने सहायक विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै वर्षात्को समयमा हुन सक्ने बाढी, पहिरो जस्ता घटनालाई न्युनीकरण गर्न आवश्यक तयारी थालिएको छ । बाढी, पहिरोका कारण हुन सक्ने राजमार्ग अबरुद्ध, टेलिफोन, विद्युत् अबरोध तत्काल हटाउन आवश्यक तयारी गर्ने निर्णय गरिएको प्रशासनका प्रशासकीय अधिकृत रमा श्रेष्ठले जानकारी दिनुभयो ।

समितिले मुख्य गरेर सिद्धार्थ राजमार्ग अबरुद्ध हुन नदिने, यसअघि पहिरो गई जोखियुक्त स्थानको पहिचान गरेर आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । विपद्का घटनालाई कम गर्न स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय, सरोकारवाला निकायले आवश्यक तयारी गर्ने निर्णय भएको छ ।

कसैले स्थानीय प्रशासनको आदेश उलंघन गरेर नदी तथा खोलाबाट नदीजन्य सामग्रीको निकासी गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने प्रजिअ बास्तोलाले बताउनुभयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च