पाल्पा ।
पाल्पाको रिब्दीकोट गाउँपालिकाले बाझिएको जमिन हराभरा बनाउन थालेको छ । गाउँपालिकाका विभिन्न वडाहरुका ९८ रोपनी बाझिएको जमिनलाई यो वर्ष हराभरा बनाएको हो । यहाँको ४ सय ८ रोपनी जमिनमा बेसार खती कार्यक्रम गरि बाझिएको जमिनलाई उब्जाउ बनाउने पहल भएको हो ।
बाझिएको जमिनको उपयोग गर्दै बेसार खेतीमा आम्दानी बढाउन गाउँपालिकाले बेसार खेती प्रर्बद्धन कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीका अनुसार यहाँका २ सय ९५ घरधुरीहरुले ४ सय ८ रोपनी जमिनमा बेसार खेती गरेका छन् । जसमा ९८ रोपनी बाझिएर खेर गएको जमिनलाई उपयोग गरिएको थियो । ‘हामीले बेसार खेती कार्यक्रम सुरु गरेपछी यहाँका कृषकहरुले स्तस्फूर्त रुपमा बाझो जमिन खन्न सुरु गर्नुभयो । अध्यक्ष कार्कीले भन्नुभयो, खेती भईरहेको अन्य जमिनमा खुर्सानी, तरकारी समेत भएकोले यो वर्ष ९८ रोपनी बाझो जमिन खनिएको छ, आगामी वर्षहरुमा बढ्दै जानेछ ।’
का लागि प्राविधिक जाँच गर्दै प्राविधिकहरु
रिब्दीकोट गाउँपालिका र हेफर परियोजनाको सहकार्यमा संचालित रिब्दीकोट कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको सहयोगमा गाउँपालिकामा ४८ हजार ९ सय ६० किलो बेसार लगाइएको छ । यहाँका २ सय ९५ घरधुरीले ४२ लाख २३ हजार ४ सय रुपैयाको बेसार लगाएका छन् । गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीका अनुसार परियोजनाको ५० प्रतिशत अनुदान र कृषकहरुको ५० प्रतिशत लागतमा विउ खरिद गरि बेसार खेती गरिएको हो । रिब्दीकोट गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउदै निर्यात गरी आम्दानी बढाउने गाउँपालिकाको लक्ष्य अनुसार बेसार खेती गरिएको उपाध्यक्ष अधिकारीले बताउनुभयो । यहाँका ८ वटा वडाहरुमा बेसार खेती गरिएको छ । यहाँको वडा नं. २ मा ९ रोपनी, वडा नं. ३ मा ११ रोपनी, वडा नं. ४ मा २१ रोपनी, वडा नं. ५ मा ६ रोपनी, वडा नं. ६ मा ४ रोपनी, वडा नं. ७ मा ४१ रोपनी र वडा नं. ८ मा ७ रोपनी बाझिएको जमिनमा बेसार खेती गरिएको प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले जानकारी दिनुभयो । गत वर्ष ५ सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरी २ करोड वढी आम्दानी गरेको रिब्दीकोटले यो वर्ष ३ सय रोपनी थप गरी ८ सय रोपनीमा अकबरे खुर्सानी र ५ सय रोपनीमा बेसार खेती गरेको हेफर ईन्टरनेशनलका बरिष्ठ कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेयले बताउनुभयो ।
नेपालमा सम्भावना नदेखेर विदेशिनेहरुको संख्या दैनिक हजारौंमा छ । अझ पहाडी जिल्लाहरुमा बसाँईसराईको दर समेत उच्च छ । रिब्दीकोट गाउँपालिका पनि वढी बसाँईसराई हुने पालिका अन्र्तगत पर्दछ । गाउँपालिकाले अकबरे खुर्सानी, वेसार, सुन्तला जस्ता आम्दानी बढाउने कृषि क्षेत्रमा लगानी बढाएको छ । सम्भावना वढाउदै बैदेशिक र बसाँइसराईको दर घटाउन पालिका उद्यत छ ।