दाङ, । लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकै बीच बजेटमाथिको छलफल सकिएको छ । आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि अर्थमन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको बजेटमाथि सैद्दान्तिक छलफल गर्न आह्वान गरिएको प्रदेश सभा बैठक एमालेको अवरोधले अघि बढ्न सकेको थिएन ।
सोमबार बोलाइएको बैठकमा पनि प्रतिपक्षले बजेटमाथि असन्तुष्टी जनाउँदै आफ्नो विरोध जारी राख्यो । बैठक सुरु भएलगत्तै बोल्ने समय पाएका एमालेका प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले सरकारले आफूहरुले राखेको माग नसुनेको भन्दै विरोध जनाए ।
एमालेको अवरोधपछि एक घण्टा स्थगित गरेर पुनः सुरु भएको बैठकमा एमाले प्रदेश सांसदले नाराबाजी गरिरहे पनि सभामुख तुलाराम घर्ती मगरले बैठक अघि बढाए ।
बैठकमा नाराबाजीकै बीच सत्ता पक्षका सांसदहरुले बजेटमाथि आफ्ना धारणा राखे । नेपाली कांग्रेसका बसिउद्दिन खाँले प्रदेशको हालसम्मकै राम्रो बजेट आएको बताए । उनले नमुना प्रदेश बनाउन सक्ने खालको बजेट सरकारले ल्याएको दाबी गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले बजेटमा विगतका क्रमागत योजनाहरु कटौती गरेको र प्रदेशका निर्देशनालयहरु खारेज गर्ने भनेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । एमालले सरकारले ल्याएको ०७५/०७६ का यताका बजेटमा रहेका क्रमागत योजनाहरुमा यसपालि बजेट कतौती गरेको र प्रदेशका निर्देशनालय खारेज गर्न खोजेको भन्दै विरोध जनाउँदै आएको छ ।