एसइईमा कुन ग्रेड ल्याएका विद्यार्थीले कुन विषय बढ्न पाउँछन् ? नन् ग्रेडिङ भए के गर्ने ?

तानसेन । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल विहिबार प्रकाशित गरेको छ । नतिजा प्रकाशनसँगै अब विद्यार्थीले कुन विषय लिएर आफ्नो अध्ययनलाई अघि बढाउने भनि अन्यौल हुन सक्छ । विद्यार्थीले आफ्नो अध्ययनलाई अगाडि बढाउनका लागि विषय छनोट सबैभन्दा महत्वपूर्ण पाटो हो । विद्यार्थीले प्राप्त गरेको अंकका आधारमा विषय छनोट गर्न पाउने गरी राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको हुँदा यस बारे जानकारी राख्न आवश्यक छ ।

हाल प्रचलनमा रहेको लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिकतर्फ ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क नल्याउने विद्यार्थीको प्रमाणपत्रमा एनजी अर्थात् ९नन ग्रेडेड० लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ । तर यसवर्ष भने यो नियम लागू नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताकङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ । साथै ६० देखि ७० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताङ्क हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताङ्क हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताङ्क हुनेलाई ई ग्रेड प्रदान गरिन्छ ।

विद्यार्थीले ल्याउने अंकको आधारमा के विषय पढ्न पाउने र के नपाउने भन्ने सरकारले तोकिदिएको छ । कक्षा ११ मा भर्ना पाउन अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनै पर्छ । विज्ञान पढ्न विज्ञान र गणितमा सी प्लस ल्याउनैपर्छ । आठ विषयमा परीक्षा दिँदा गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञानबाहेकका तीन विषयमा भने जुन ग्रेड ल्याउँदा पनि हुन्छ । नेपाली, अंग्रेजी र सामाजिक अध्ययनमा डी ग्रेड ल्याए पनि विज्ञान पढ्न पाउँछन् ।

कक्षा ११ मा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन् । यी समूहमा भर्ना हुन विद्यार्थीले समग्र नतिजामा न्यूनतम जीपीए २ ल्याउनैपर्छ । विषयअनुसार जुन ग्रेड ल्याए पनि न्यूनतम जीपीए १ दशमलव ६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउँछन् । सीपमूलक विषय समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पर्छन् । यी विषय प्राविधिक धारबाट परीक्षा दिएका विद्यार्थीका लागि हो ।

समग्र नतिजामा न्यूनतम जीपीए १ दशमलव ६ ल्याएका तर गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञान गरी पाँच विषयमा डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकी विषय समूहमा भर्ना हुन पाउनेछन् । सैद्धान्तिक विषयतर्फ सी वा त्यसभन्दा तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेमा ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले परीक्षा दिन सक्नेछन् ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च