बुटवल उपमहानगरमा लफडा : मेयरले काममा दबाब दिएको भन्दै काठमाण्डौं हानिए हाकिम

बुटवल । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय बीच विवाद उत्पन्न भएको छ । मेयर पाण्डेयले अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै प्रमुख प्रशासकीय विष्णु भुसालले बुटवलबाट फिर्ता जाने निर्णयमा पुगेको श्रोतको दाबी छ ।

मेयर पाण्डेले आफू निकटका व्यक्तिहरुलाई कानून विपरित नियुक्ति गर्न दबाब दिएको तथा आर्थिक अपारदर्शिता हुने खालका निर्णयहरुमा हस्ताक्षर दिन दबाब सिर्जना गरेपछि भुसाल बुटवलबाट फिर्ता जाने निर्णयमा पुगेको श्रोतको दाबी छ । बुटवल उपमहानगरको कार्तिक २२ गते बुधबार कार्यपालिका बैठक आयोजना गरिएकोमा अघिल्लो दिन मँगलबार नै भुसाल काठमाण्डौं हानिएका छन् । कार्यपालिका बैठकमा प्रस्ताव लैजाने विषयमा उनीहरु बीच विवाद उत्पन्न भएको थियो । स्रोतका अनुसार मँगलबार दिउँसो मेयर पाण्डेयले अनुदान वितरण गर्ने विषयलाई कार्यपालिकामा नलगेर भित्रभित्रै मिलाउने गरि आफ्ना कार्यकर्तालाई वितरण गर्ने दबाब दिएका थिए । उक्त प्रस्तावमा असहमती जनाउँदै भुसालले नियमानुसार प्रस्ताव बैठकमा लैजानु पर्ने अडान राखेका थिए । स्रोतका अनुसार उक्त अडानपछि मेयर पाण्डेले प्रमुख प्रशासकीय भुसाललाई “तपाईले मलाई असहयोग गर्ने, त्यसो भए तपाईं भर्खरै जानुस्” भनेर भनेका थिए । मेयरको उक्त ठाडो आदेशसँगै भुसालले आफू एक मिनेट पनि नबस्ने भनी भुसाल कार्यलयबाट निस्किएका थिए ।

यद्यपि प्रमुख प्रशासकीय भुसालले भने मेयर पाण्डेयसँगको सहमतीमै बुटवलबाट फिर्ता जाने निर्णय गरेको बताए । “सबै मान्छे सबै ठाउँमा फिट नहुन सक्छन्, त्यसैले पनि हामी सहमतीमै त्यो निर्णयमा पुगेका हौं ।भुसालले भने “विवाद नै भएको भन्न मिल्दैन, यसलाई सामान्य रुपमा नै लिँदा हुन्छ ।” सबैको काम गर्ने तरिका फरक हुने बताउँदै उनले यसलाई ठूलो रुप नदिन आग्रह गरे ।

भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा हाजिर हुन आएका थिए । यति छोटो समयमै उनले बुटवल छाड्ने निर्णयले पनि उनीहरु बीच विवाद रहेको अनुमान गर्न सकिन्छ । यस विषयमा कुुरा गर्न पटक-पटक प्रयास गरे पनि मेयर पाण्डेयको फोन उठेन ।स्रोत ग्लोबल आवाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च