तानसेन । रिब्दीकोट गाउँपालिका वडा नम्बर – ७ स्थित पालुङ मैनादी मा पहिलो पटक मैनादी सुन्तला महोत्सव सुरु हुनेभएको छ । यो जिल्लामै पहिलो सुन्तला महोत्सव हुने लागेको हो ।
७ नं. वडा कार्यालयको आयोजना, मैनादी कृषि सहकारीको व्यवस्थापन र रिब्दीकोट गाउँपालिकाको संरक्षकत्वमा प्रभात माध्यमिक विद्यालयको प्राङ्गणमा यही मंसिर १६ गते हुने १ दिने सुन्तला महोत्सव हुने भएको छ ।
महोत्सवका लागी करिब १२ देखि १५ वटा स्टल सहभागी हुने आयोजकले अपेक्षा लिएका छन । उक्त महोत्सवको सहआयोजकका रुपमा सुन्तला तथा फलफुल विकास केन्द्र तानसेन, कृर्षि ज्ञान केन्द्र तानसेन, प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना जोन तानसेन र हेफर प्रोजेक्ट नेपाल रहेका छन ।
मैनादीमा करिब २ सय घरधुरीले कृषि पेशा अन्तरगत नगदेबालीका रुपमा सुन्तला खेतीलाई मुख्य आम्दानीका रुपमा खेती गर्दै आएका छन । महोत्सव सञ्चालनका लागी स्थानीय सरकारका रुपमा वडा नम्बर ७ बाट १ लाख ५० हजार सहयोग हुनेछ भने अन्य रकम रिब्दीकोट गाउँपालिकाले सहयोग गर्ने वडा न. ७ का वडा अध्यक्ष दान बहादुर कुँवरले जानकारी दिनुभयो ।
खासगरी यस क्षेत्रमा सुन्तलाको उत्पादन कृषकले सोचेभन्दा अत्यन्तै राम्रो भएकोले यसको उचित मुल्य तोकी बजारीकरण गर्ने, यस क्षेत्रको प्रचारप्रसारले किसानमा एक प्रकारको हौसला र उत्प्रेरणाका लागि थप ऊर्जा प्रदान गर्नका लागि सुन्तला महोत्सव आयोजना गरिएको मैनादी कृषि सहकारीका अध्यक्ष वेन बहादुर पुनको भनाई छ ।
कृषकलाई सुन्तला सम्बन्धी ज्ञान सीप तालिम वडा कार्यालयले प्राविधिकबाट गराउँदै आएको मैनादी कृषि सहकारीका सचिव केशव कुँवरले बताउनु भयो ।
मैनादीमा सुन्तला बोटमै खरिद गर्नेहरुका लागी किसानले ६५ र ७० प्रति केजीमा उपलब्ध गराउँनेछन भने बजारमा लगेर बिक्रीका लागी ८० र १०० प्रति केजीमा दिने भएको छ । यस ठाउको सुन्तला बिशेष गरी देशका विभिन्न शहरहरु भैरहवा, पोखरा, बुटवल, पाल्पा, काठमाडौं र जनकपुर खपत हुने गर्छ ।
रिब्दीकोट – ७ पालुङ्ग मैनादी पछिल्लो समय सुन्तला, टमाटर खेती र पशुपालन व्यवसायसंगै कृषिको पकेट क्षेत्रका रुपमा परिचित हुँदै गएको छ ।
सरकारले खेतीयोग्य जग्गालाई एकीकृत गरी सामूहिक उत्पादनमा लाग्ने कृषकलाई सरकारले अनुदानका कार्यक्रम ल्याउनु पर्ने वडा अध्यक्ष दान बहादुर कुँवरले बताउनु भयो । मैनादीमा सुन्तलालाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले खेती गरिदै आएको छ ।
पाल्पा जिल्लामै राम्रो सुन्तला उत्पादन हुने मध्येको मैनादीमा उत्पादन भएका सुन्तलाको बजारीकरणका लागि महोत्सव गरीएको तथा महोत्सवले सुन्तलाको व्यापार तथा प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकले अपेक्षा छ ।