कौडेलेकमा स्थानीयबासीकाे सहयाेगमा दृश्व अवलोकन पूर्वाधार निर्माण

पाल्पा – पाल्पाको माथागढी गाउँपालिका–३ स्थित कौडेलेकमा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न दृश्व अवलोकन पूर्वाधार (भ्यु टावर) निर्माण गरिएको छ । स्थानीय बासिन्दा, भारतीय भूपूसैनिक, ब्रिटिस तथा अन्य देशमा कार्यरत ओलेसका बासिन्दाले कौडेलेकमा दृश्य अवलोकन स्थलको निर्माण गरेका हुन् ।
दृश्व अवलोकन पूर्वाधार भ्यु टावरको उद्घाटन गर्नुहुँदै लुम्विनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले ओलेस गाउँ र कौडेलेकलाई भौतिक विकास मात्र नभई स्थानीयकाे आर्थिक र सामाजिक विकाससँग जाेडेर जानुपर्नेमा जाेड दिनुभयाे । उहाँले होमस्टे सहितको पर्यटकीय क्षेत्रका रुपमा कौडेलेक र ओलेसलाई विकास गर्न सकिने र त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीय बासिन्दा सक्रिय भएर भ्यु टावर निर्माण गर्नु आफैमा अत्यन्तै सह्रानीय कार्य रहेको प्रदेशसभा सदस्य सारूकाे भनाइ छ ।

यस्तै माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले कौडेलेक आफैमा पर्यटकीय स्थल भएपनि साेचे अनुसारकाे विकास हुन नसकेकाे बताउनुभयाे । उहाँले गाउँपालिकाले पर्यटकीय पूर्वाधार निर्माणका साथै हाेम स्टे संचालनका लागि तालिममा स्थानीयलाइ सहयाेग गरेकाे बताउनुभयाे । उहाँले स्थानीय सरकारले ओलेसका जनताको माग अनुसार लगानी गर्न तयार रहेको उल्लेख गर्नुभयो । लुम्विनी प्रदेश सरकारका पूर्व मन्त्री रमा घर्तीले ओलेस र कौडेलकको विकासका लागि प्रचारप्रसारको अभाव रहेको र प्रचारप्रसार गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति सदस्य केशमाया सुनारले होम स्टे सञ्चालनले माथागढी गाउँपालिका लगाएत ओलेसको विकासमा महत्वपूर्ण भुमिका खेल्ने दावी गर्नुभयो । माथागढी–३ का वडाअध्यक्ष तेजबहादुर घर्तीमगरले ओलेस र कौडेलेकको विकास गर्ने जनप्रतिनिधिले चाहाना भएपनि चाहना अनुसार लाग्न नसकेकाे बताउँदै आगामी दिनमा ओलेस र कौडेलेककाे विकासलाइ प्राथमिकतामा राखेर अघि बढ्ने विस्वास दिलाउनुभयाे । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले जनताको चाहनाले मात्र ओलेस र कौडेलेक जिल्लाकै पर्यटकीय क्षेत्रका रुपमा विकसिक हुने धारणा राख्नुभयो ।

कार्यक्रममा निर्माण समितिका सचिव ज्ञानबहादुर चिदीले भ्यु टावर निर्माणका लागि १३ लाख ७७ हजार रुपियाँ संकलन भएको जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी जनकराज शर्मा, दिव्य ज्योति माविका पूर्व प्रअ नारायणप्रसाद अधिकारी, जगतबहादुर थापा, टोल संयोजक खुमबहादुर सुर्यबंशीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम निर्माण समितिका अध्यक्ष डुबलसिंह आलेको अध्यक्षता, उपाध्यक्ष टोपबहादुर सारुको स्वागत र शिद्धबावा प्राविका पूर्व प्रअ कृष्ण रानाको संचालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च