१५ दिन दैनिक ८ घण्टा पाल्पा बुटवल सडक खण्ड बन्द हुने

तानसेन। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । आगामी फागुन १३ गते शनिबारदेखि दिउँसो र राति गरी दैनिक आठ घण्टा बन्द हुने भएको हो ।

सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काममध्ये रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले वैकल्पिक सडकको व्यवस्थापन गरेर विहान ११ बजे देखि २ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

यस्तै रातिको १० बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने निर्णय भएको छ । आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र साना र हलुका सवारी साधनहरुका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरउन्नति गरेर मात्र राजमार्ग बन्दगरेर काम गर्न दिने निर्णय भएको प्रजिअ पन्तले बताए।

सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा प्राप्त गरेको कम्पनीले तत्काल स्तरउन्नती गर्ने सहमति भएको छ । अहिलेसम्म सुरुङमाग निर्माणको जिम्मेवारी प्राप्त निर्माण कम्पनीले सम्झौता अनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ ।

विभागले डिपिआर स्विकृत नगरिसकेकोले अहिले पूर्व तयारीको काम भैरहेको सिद्धबाबामा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएर काम सुरु गरिरहेको छ ।

निर्माण हुने मुख्य सुरुङमार्गको दूरी एक हजार एक सय २६ मिटरको रहने सिद्धबाबामा सुरुङमार्ग योजनाका प्रमुख होमबहादुर एसीले जानकारी दिए । सुरुङमार्ग निर्माण सुरू भएको पाँच वर्षमा निर्माण सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च