तानसेन। पाल्पा सदरमुकाम तानसेनका उपभोक्ताले पिउने पानी नियमित नआएको भन्दै आन्दोलित भएका छन् । धारामा हप्तौं वित्दा समेत पिउनेपानी नआएको र तानसेनमा खानेपानी उपभोक्ता समिति लाचार बनेर बसेको भन्दै आफूहरु धर्नामा बसेका हुन्।
खानेपानीको अभावले आक्रोशित बनेका उपभोक्ताहरू बुधबारदेखि खानेपानी कार्यालयमा शान्तिपूर्ण धर्नामा बसेका छन् । खानेपानीको सहज आपूर्तिको माग गर्दै धर्नामा बसेका उनीहरुले बताएका छन् ।
धर्नामा बसेका उपभोक्ताले खानेपानीको समस्या समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । खानेपानी वितरणमा देखिएको समस्या तत्काल समाधान नभएमा थप आन्दोलतका कार्यक्रम गर्ने तानसेन २ बसन्तपुरका उपभोक्ता रुक्मागत बस्यालले बताए ।
नियमित पानी वितरणमा विभिन्न बाहना बनाएर उपभोक्ता समितिले उपभोक् ठग्ने काम गरेको हुँदा यसतर्फ स्थानीय सरकार र अन्य सरोकारवालाले पनि ध्यान दिन उपभोक्ताले माग गरेका छन् ।
पहिलो चरणमा शान्तिपूर्ण धर्ना बसेका उपभोक्ताले थप आन्दोलनका कार्यहरु समेत गर्न पछि नपर्ने बताएका छन् । पटकपटक खानेपानी समस्याका बारेमा ध्यानाकर्षण गराउँदा समेत समितिले बेवास्ता गरेको उपभोक्ताको आरोप छ ।
नियमित पानी वितरण नहुँदा नारायणस्थान, तिनधारा, होलङ्दीलगायतका धाराहरुमा पिउने पानीका लागि घण्टौंको भीड लाग्नुपर्ने बाध्यता रहेको उपभोक्ताको गुनासो छ ।
तानसेन खानेपानी उपभोक्ता समितिका कार्यवहाक अध्यक्ष पुरनमान बज्रचार्यले भने विद्युतको भोल्टेजको कारणले समयमा र नियमित पिउने पानी वितरणमा समस्या भएको बताएका छन् ।