नयाँ बसपार्क बुटवलमा निःशुल्क वाइफाई इन्टरनेट

बुटवल । बुटवलको नयाँ बसपार्कमा नि:शुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वर्ल्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा नि:शुल्क वाइफाइ इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।

मंगलबार नि:शुल्क वाइफाइ इन्टरनेट सुविधा शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियान अन्तरगत नि:शुल्क वाइफाइ इन्टरनेट जडान गरेको बताए । उनले बसपार्कलाई यात्रुहरुको विश्रामस्थलका रुपमा सञ्चालन हुने गरी अन्य सुविधाहरु समेत थप गर्दै जाने बताए । ‘हामीले अहिले शौचालय र स्नानलाई नि:शुल्क बनाएका छौं, खानेपानी र वाइफाइ इन्टरनेट नि:शुल्क भएको छ, उनले भने, -छिटै नै विश्रामस्थलहरु बनाएर यहाँ उच्च क्षमताका लाइटहरु जडान गर्ने कामको शुरुवात हुनेछ, यसले बसपार्कलाई सुरक्षित र सुविधासम्पन्न बनाउनेछ, जसले बस चढ्न र ओर्लिन आउनेहरु विश्राम गर्न अन्यत्र जानपर्ने बाध्यता हट्नेछ ।’

उनले बसपार्कभित्रका धेरै समस्याहरु समाधान गर्दै सफा र सुरक्षित बनाउने काम उपमहानगरपालिकाले निरन्तर गरिरहेको बताउँदै बस टर्मिनलको भवनमा छिटै नै स्तरीय क्यान्टिन सञ्चालन गर्ने तयारीमा रहेको बताए । ‘हामीकहाँ विमानस्थलहरु सुविधासम्पन्न हुन्छन्, तर बसपार्कहरु चोरीडकैती गर्ने ठाउँजस्ता भएका छन् ‘-उनले भने, ‘बसपार्कलाई पनि सुविधासम्पन्न बनाउने र सुरक्षित बनाउने काममा हामी लागेका छौं, त्यसका लागि यातायात व्यवसायी, मजदुर, व्यवसायी र स्थानीयको साथ आवश्यक रहन्छ ।’ उनले बसपार्क क्षेत्रलाई अरु विस्तार गर्दै बहुतले पार्किङ स्थल र उच्च क्षमताका लाइटहरु राख्ने तयारीमा रहेको बताए ।

वर्ल्डलिंक कम्युनिकेशनका क्षेत्रीय प्रबन्धक आनन्द झाले नि:शुल्क वाइफाइ इन्टरनेट जडान गर्न बुटवल उपमहानगरपालिकाले गरेको अगुवाईप्रति खुशी व्यक्त गरे । ‘बसपार्कभित्र लगइन गरेपछि मोबाइल एसएमएस प्राप्त हुने र त्यपछि आउने कोड हालेपछि नब्बे मिनेटसम्म इन्टरनेट चलाउन सकिन्छ ।’ उनले भने, -मोबाइलको सेटिङ र सुरक्षाका कारण लगइन गर्दा केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, त्यसको सबै तरिका बसपार्कमा राखिने सूचनाबोर्डमा उल्लेख हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च