पाल्पा – माथागढी गाउँपालिकाले आफूले प्रवाह गरेको सेवा तथा कामको बारेमा सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिकाले गत आव २०७८/०७९ र चालु आव २०७९/०८० को अर्धवार्षिक कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले गत वर्षको प्रगति प्रतिवेदन तथा यो चालु आवको कार्यक्रम तथा प्रगतिका बारेमा जानकारी दिनुभएको थियो । ज्ञवालीले हरेक चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्ने कार्यक्रम भएपनि विविध कारणले डेढ वर्षको अबधिमा सार्वजनिक सुनुवाई गरेको बताउनुभयो । उहाँले गत वर्ष ८३ प्रतिशत प्रगति हासिल गरेको र चालु आवमा पनि कार्यक्रम कार्यान्वयन प्रभावकारी रुपमा भइरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले सार्वजनिक सुनुवाईले पालिकालाई काम गर्न उर्जा दिने भएकाले त्यसलाई गाउँगाउँमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले घुम्ती सार्वजनिक सुनुवाई, ठूलो योजना सञ्चालन भएको स्थानमै सार्वजनिक सुनुवाई गरेर जनताको गुनासो सम्बोधन गर्न सकिने धारणा राख्नुभयो । अध्यक्ष रानाले सार्वजनिक सुनुवाईमा आम उपभोक्ता तथा सर्वसाधारणको सहभागिता न्युन हुनु दुखद भएको बताउनुभयो । यस्तै नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले विकट गाउँका नागरिक अझैँ पनि प्रश्न गर्ने अवस्थामा नरहेको बताउँदै त्यस क्षेत्रका नागरिकलाई सार्वजनिक सुनुवाईमा सहभागी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरू नारायणप्रसाद अधिकारी, लोकेन्द्र थापा, दामोदर घर्ती, नेपाली कांग्रेसका क्षेत्रीय सचिव मधु पराजुली, नेकपा एमाले माथागढीका इन्चार्ज सन्तोष भट्टराईलगायतले सुझाव दिनुभएको थियो । कार्यक्रममा उठेका सवालहरूको जवाफ माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, उपाध्यक्ष विष्णुमाया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, इन्जिनियर धर्मेन्द्र यादव, प्रेम बाह्रघरेलगायतले दिनुभएको थियो ।
कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै पाकिाका अध्यक्ष चिदीले नागरिकको चाहना बमोजिम काम गर्न पालिका तयार रहेको बताउनुभयो । उहाँले काम गर्दै जाँदा कमीकमजोरी भए त्यसलाई सच्याउन पालिका तयार रहेको बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व सभापति एवं सल्लाहकार गोविन्द भट्टराईले सहजीकरण गर्नुभएको थियो ।