पाल्पा,
तानसेन र रामपुरमा ‘सहकारीको दिगोपन : स्वनियमन र सुशासन’ नारासहित ६६ औँ सहकारी दिवस मनाइएको छ । तानसेनमा तानसेन नगरपालिका, जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको कार्यक्रममा सचेतनामूलक र्याली निकालिएको हो ।
र्याली पछि अायाेजित कार्यक्रममा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले सहकारीले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनी भन्छन्, निम्न आयका भएका व्यक्तिहरुको जीवनस्तरमा उकास्न सहकारीको विकास र विस्तारमा तीनै तहका सरकारको चासो हुनुपर्छ । सांसद गैरेले भने, ‘सहकारीप्रति गाउँ टोलमा विश्वास र भरोसा बढेको छ ।
राष्ट्रिय सहकारी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारीको मर्म र भावना अनुसार नचल्ने सहकारीहरुमा केही समस्या देखिए पनि सबै सहकारीमा त्यस्तो नरहेको बताए । उनले भने‘ सहकारीमा कुनै पनि समस्या छैन्, बरु समस्यामा परेकाहरुको लागि सहकारी सहयोगी बन्दै आएका छन् ।’ सहकारीलाई प्रविधिमैत्री बनाएर लैजानुपर्नेमा उनले जोड दिए । उपाध्यक्ष पोखरेलले नीति विधि र प्रविधिमैत्री बनेर काम गर्न सहकारी संस्थाहरुलाई आग्रह गरे ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले सहकारी मार्फत् किसान, श्रमीक वर्गहरूकाे प्रगतिका लागि मार्ग प्रशस्त गरेकाे बताए । जिल्ला सहकारी संघका अध्यक्ष भूपति पाण्डे, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगदीश भट्टराई, तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सीना, सहकारी अभियान्ता महेश्वर पन्त लगायतले राष्ट्रको समृद्धिका लागि सहकारी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।
नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको स्वागत, नगरपालिकाका सहकारी विभाग प्रमुख दुुर्गा थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।