तानसेन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा खण्डमा निर्माण हुने सुरुङ्ग मार्ग क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
सोमबार उनीहरुले माथिल्लो सिद्धबाबास्थित सुरुङमार्ग निमाण स्थलको अवलोकन गरेका हुन् । नेपालका लागि चिनिया राजदूत, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती, भौतिक पूर्वाधार मन्त्रालयका सचिव पूर्व सांसद सोमप्रसाद पाण्डेय लगायतले सुरुङमार्ग निमाणस्थलको अवलोकन गरेका हुन् ।
अवलोकन तथा निरिक्षणपछि बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङ मार्ग तोकिएको समयमा निर्माण सम्पन्न हुने बताए। सरकारले अहिले सबै भैतिक पूर्वाधारका संरचना निर्माण समयमा गर्नका लागि चासो दिएको हुँदा सुरुङमार्ग निर्माण तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको उनले बताए ।
मन्त्री ज्वालाले बुटवल, पाल्पा हुँदै विभिन्न ठाउँमा पुग्ने सडक असुरक्षित भएकाले सिद्धबाबामा सुरुङमार्ग निर्माण शुरु गरिएको बताए । उनले यो सडकलाई सुरक्षित बनाउनका लागि सुरुङमार्ग र अन्य ठाउँमा सडक सुरक्षित हुने गरि काम अघि बढाइएको पनि सो बखत बताए ।
मन्त्री ज्वालाले अब मनसुन सुरु हुने समय नजिकएको हुँदा कुनै पनि राजमार्ग अवरुद्ध नहुनेगरी काम गर्न सरकार लागि परेको सो बखत बताए।