तानसेन नगरपालिकाले एक वर्षे कार्य प्रगति सार्वजनिक गरेको छ ।नगरपालिकाले कृषि तथा पशुपन्छी, शिक्षा, स्वास्थ्य, खानेपानी, पूूर्वाधार विकास, वन तथा वातावरण लगायतका क्षेत्रमा भएका एक बर्षे गतिविधी सार्वजनिक गरेको हो ।
एक वर्षको अबधिमा वर्षौदेखि सरकारी जग्गा हडपेर भाडा समेत नतिरेका ५७ घरटहरा हटाएको छ । सुन्दा र सामान्य अर्थमा ५७ वटा घरटहरा हटाएको विषय नकारात्मक सुनिन सक्छ । तर यसले दीर्घकालिन रुपमा पार्ने प्रभाव भने पक्कै पनि सकारात्मक हुने अपेक्षा गरिएको छ । विगतको कर्मचारीतन्त्र र यसअघिका नगरप्रमुखका बेला पनि मख्खनटोलका घरटहरा हटाउने चर्चा नभएको होइन, तर काम भने वर्तमान जनप्रतिनिधिकै नेतृत्वमा सम्पन्न भएको छ । यो कार्यले दरबार परिसरलाई ऐतिहासिक एवं पर्यटकीय स्थलमा रुपमा विकास गर्न सहज बाटो खुलेको छ ।
यतिमात्र होइन, दरबार परिसरभित्र रहेका कतिपय सरकारी कार्यालयलाई त्यस स्थानबाट स्थानान्तरण गर्न दवाव पुगेको छ । दरबार परिसरभित्रका चार वटा कार्यालय सार्ने निर्णय गरिसकेकाे छ । दरबार परिसरका ५७ वटा घरटहरा हटाउनुले तानसेन नगरपालिकाले पर्यटन र ऐतिहासिकताको क्षेत्रमा केही नयाँ काम गर्न खोजेको छ भन्ने पुष्टि गरेको छ ।
शिक्षा क्षेत्रमा पनि जिल्लामै पहिलो पटक केही सकारात्मक कदम चालेको छ । संविधानले विद्यालय तह कक्षा १२ सम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई सुम्पेको छ । यही अधिकारलाई तानसेन नगरपालिकाले प्रभावकारी कार्यान्वयनमा लैजाने प्रयास गरेको छ । डेढ दुई दशकदेखि विद्यार्थी नभएर खण्डहरमा परिणत भएका नगरका १४ वटा विद्यालयलाई वर्तमान नेतृत्वले समायोजन गर्न हिम्मत गरेको छ ।
विगतमा शिक्षा कार्यालयले समेत गर्न नसकेको काम यो वर्ष तानसेनले सुरु गरेको छ । तानसेनका १४ वटा विद्यालयमध्ये कतिपयलाई समायोजन, कतिपयलाई कक्षा घटुवा गरेर विद्यालय क्षेत्रको अधिकार नगरपालिकाले प्रयोग गरेको छ । यसले विद्यार्थी नभएर खण्डहरमा परिणत विद्यालयलाई ठीक अवस्थामा ल्याउन सहयोग पुगेको छ । यतिमात्र होइन विद्यालयमा हाजिर गरेर तलबभत्ता खाने शिक्षकको उद्दार भएको छ भने विद्यार्थी संख्या बढी भएका विद्यालयमा शिक्षकको व्यवस्थापन गर्न सहजता आएको छ । पाल्पामा तानसेनले यो काम सबैभन्दा पहिले सुरु गरेको छ । यसले जिल्लाभरिका अन्य पालिकालाई पनि विद्यालय समायोजन गर्न सन्देश दिएको छ ।
तानसेन नगरपालिकाले एक वर्षको अबधिमा गरेको अर्को उल्लेखनीय काम भनेको राजश्व संकलनमा अपनाएको फरक शैली हो । नगरपालिकाले तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्रमा आफ्नै कर्मचारी राखेर राजश्व संकलन गरिरहेको छ । जसका कारण विगतमा भन्दा चार गुणा बढी राजश्व संकलनमा बृद्धि भएको छ । यसअघि ठेकेदारमार्फत राजश्व संकलन गर्दा श्रीनगरमा ८ लाख र रानीमहलमा १२,१५ लाख राजश्व संकलन हुने गरेको थियो । नगरपालिकाले आफैले राजश्व संकलन गर्दा राजश्वमा हुने चुहावट पूर्ण रुपमा नियन्त्रणमा आएको छ । नगरपालिकाको राजश्व संकलनलाई पारदर्शी बनाएको छ भने राजश्व संकलनमा समेत उल्लेख्य प्रगति गरेको छ ।