पाल्पाको कामाख्या देवी मन्दिरमा सप्ताहव्यापी पुजा शुरु, केबलकार १५ गते देखि चल्ने

पाल्पा। बुटवलको लुम्बिनी केबलकारको टप स्टेसन रहेको पाल्पाको बसन्तपुर डांडामा बनेको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पुजाआराधना शुरु भएको छ ।
व्यवसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालन हुंदैछ । केबलकार सञ्चालन हुनु पुर्व मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु भएको हो ।भारतको गुहावटीमा रहको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।

सप्ताहव्यापी पुजाआराधनामा बुटवलसहित रुपन्देही,पाल्पा र छिमेकी जिल्लाबाट भक्तजनहरु आउने गौतमले बताए ।सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिंदैछन् । कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर,गणेश मन्दिर,कैलाश पर्वत, वर पिपल, ढुंगे धारा,पोखरी आदि संरचनाहरु निर्माणले बसन्तपुर एउटा धार्मिक गन्तब्य बनेको लुम्बिनी केबलकारका इन्जिनियर सन्नी चौरसियाले बताए ।सप्ताहव्यापी पुजाआराधनाकै बीचमा जेठ १५ गतेदेखि केबलकारको व्यवसायिक सञ्चालन हुने इन्जिनियर चौरसियाले बताए ।

केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकासंग त्रिपक्षीय सम्झौता गरी लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्क वापत छुट्टाउने छ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशत पाउने छन् ।
बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउंपालिका–३ बसन्तपुरसम्म २ किलोमिटर ६ सय मिटर दुरीको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

आईएमई ग्रुपले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि काठमाडौंको चन्द्रागिरीमा र हालै नवलपुरको गंैडाकोट नजिक मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयां धार्मिक र पर्यटकीय गन्तब्य थपिएको प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । भारतको गोरखपुर, लखनउ लगायतका शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको बताए ।
केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ ।

मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा) रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने छ ।बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।
खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकार सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए ।
केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, लगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोपाल साउदले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च