पाल्पा। पहिचानवादी आन्दोलनकारीले प्रदेशसभालाई लक्षित गरी विरोधको तयारी गरिरहेका बेला कोसी प्रदेशसभा सचिवालयअघिबाट २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी प्रदेशको नाम पहिचानका आधारमा पून संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेशसभा भवन अगाडि पुगेका उनीहरुलाई आइतबार विहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदेशसभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि पक्राउ गरेको उनले बताए । आन्दोलनको जानकारी पाएपछि प्रहरीले प्रदेशसभा सचिवालय आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । विराटनगर आउने सवारी साधनको चेकजाँचमा पनि प्रहरीले कडाई गरेको छ ।
कोशी प्रदेशको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आज दिउँसोबाट सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो बैठक २ बजेका लागि बोलाइएको छ । गत फगुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । प्रदेश १ पून नामाङ्कन संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका पहिचानवादीले प्रदेशसभा अगाडि प्रदर्शन गर्ने तयारी गरेको हो ।
आन्दोलनकारीले प्रदर्शन गर्ने भएपछि प्रहरीले सुरक्षा सतर्कता उच्च बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जन दाहालले सुरक्षा सतर्कता उच्च बनाएको बताए । पहिचान आन्दोलनका नेता प्रेम येक्तेनले प्रदेशसभा भवन घेर्ने तयारी रहेको बताए । उनले आन्दोलन शान्तिपूर्ण हुने बताए । प्रदेशको नाम संसोधन गर्ने थलो प्रदेशसभा नै रहेकाले प्रदेशसभा केन्द्रीत आन्दोलन सुरु गरेको उनको भनाई छ ।