पाल्पा – कर्णेल उजीरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा सेन्ट्रल कलेज रोड्स चितवन सेमिफाइनलमा प्रवेश गरेको छ । उसले वीर गोर्खाली फुटबल क्लब लखनउ भारतलाई ५–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलमा रोड्स चितवनका लागि सबै गोल विक्की चाम्लिङ राईले गरेका हुन् । राईले खेल सुरु भएको ५ मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाए । उनले ७२, ७७, ७९ र ८३ औ मिनेटमा गोल थपे । आक्रामक र पटकपटक पोष्ट प्रहार गर्ने क्रममा लखनउ भारतका विजय गुरुङले ८२ औं मिनेटमा सान्तवना गोल गरे । आइतबारको खेलमा ५ गोल गरेर टिमलाई बिजयी बनाएका राई म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार पाए ।
सोमबार स्वयम्भु क्लब काठमाडौ र नेपाली सेनाको दि फेमस महिन्द्र दल गण बीच अन्तिम क्वार्टर फाइनल खेल हुने आयोजक पाल्पा जिल्ला फुटबल सङ्घका बरिष्ठ उपाध्यक्ष मनोज लिगलले जानकारी दिए । जेठ २७ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैयाँ पाउने एन्फा पाल्पाले जनाएको छ ।