प्युठान, । कर्मचारीमाथी हातपात गरेपछि झिमरुक गाउँपालिकाको सेवा अनिश्चितकालिनका लागि ठप्प भएको छ । बुधवार गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीका छोरा मिलन एमसी, सात्ले पिपलाका रुखहुँदै पँधेरापात्ला मोटरवाटो योजनाका अध्यक्ष राम बहादुर खड्का र सोही योजनाका सचिव गोपाल खड्काले योजना शाखामा कार्यरत कर्मचारी दिपक जिसीमाथी हातपात गरेका थिए ।
गाउँपालिका अध्यक्षका छोरा एमसीले प्रमुख प्रशासकीय अधिकृत शुवास रिजाललाई दुव्र्यवहार गरेको कर्मचारीहरुले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
एमसीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गएर,‘तथानाम भन्ने, अपशब्द बोल्ने र पैसाको गट्टी टेवुलमा फ्याकी ल घुस खान खोजेको हो भन्दै’ थर्काएको विज्ञप्तीमा भनिएको छ ।
‘म प्रधानमन्त्री भएको पार्टीको विद्यार्थी संगठनको केन्द्रिय उपाध्यक्ष हुँ’ भन्दै सुन्नै नसकिने अश्लिल तथा अपाच्य शब्द प्रयोग गरी अभद्र व्यवहार गरेको विज्ञप्तीमा उल्लेख छ ।
अपराधिक व्यवहार गर्ने व्यक्तिहरुमाथी छानबीन गरी कारवाहीका लागि माग गर्दै कर्मचारीहरुले प्रशासनसँग माग गरेका छन् ।
गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले प्रेस विज्ञप्ती जारी गर्दै कर्मचारीहरुको मनोवल गिराउने खालका गतिविधिमा संलग्न दोषीलाई तत्काल कारवाहीको माग गरेका छन् ।