पाल्पा। पाल्पाको तानसेनबाट ६६ हजार भन्दा बढी जगद रकमसहित १० जुवाडे पक्राउ परेका छन् । आइतबार दिउँसो तानसेन नगरपालिका–१ भूसालडाँडास्थित एक घरबाट जगदसहित १० जुवाडे पक्राउ परेका हुन् ।
जिल्ला कार्यालय पाल्पाबाट खटेको प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले भूसालडाँडास्थित गुल्मी रेसुङ्गा ताल्तुङ्ग होटल रहेको घरको तेस्रो तलबाट जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट ६६ हजार ८ सय २५ रकम समेत बरामद गरेको जनाएको छ ।
प्रहरीले लामो समयदेखि जुवाखाल सञ्चालन भइरहेको भन्ने गोप्से सुचनाको आधारमा खोजतलास गर्दा कोठाभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट २ हजार १५ थान रातो, निलो रङ्गका तासको पत्ति पनि फेला पारेको छ । जुवाडेलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय पाल्पाबाट मुलुकी अपराध संहिता २०७४ दफा १२५ बमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।