पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाले पत्रकार महासंघको सदस्यता शुद्धीकरण केन्द्रीय समितिले निर्धारण गरेको मापदण्ड अनुसार हुनुपर्ने बताएको छ । पत्रकार महासंघ पाल्पा शाखाले आफु अनुकुल मापदण्ड बनाएर सदस्यता शुद्धीकरणका लागि प्रदेशमा सिफारिस गर्ने निर्णय गरेसँगै युनियनले विज्ञप्ति जारी गर्दै महासंघको केन्द्रीय मापदण्ड अनुसार गर्न महासंघलाई आग्रह गरेको हो ।
महासंघ पाल्पा शाखाको २०८० असार ५ गते बसेको बैंठकले महासंघको केन्द्रीय समितिले निर्धारण गरेको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ विपरीत आफु खुसी मापदण्ड बनाई सदस्यता शुद्धीकरणको लागि प्रदेशमा सिफारिस गर्ने निर्णय गरेकोप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष मन गहिरे र सचिव विष्णु प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो अनुकूलको निर्णयले जिल्लामा क्रियाशिल रही महासंघको संस्थागत विकासमा योगदान पुर्याएका कतिपय पत्रकारहरुलाई अन्याय हुने र पत्रकारिता क्षेत्रमा क्रियाशिल नरहेका व्यक्ति सदस्य रहन सक्ने युनियनको ठहर छ । महासंघको केन्द्रीय मापदण्डलाई नै वेवास्ता गर्दै आफु अनुकूल सदस्यता शुद्धीकरण मापदण्ड बनाई सिफारिस गर्ने निर्णय तत्काल फिर्ता नलिए संघर्षमा उत्रिन बाध्य हुने समेत युनियनले चेतावनी दिएको छ ।
महासंघका पदाधिकारी र सदस्यको समेत आपत्ति
पत्रकार महासंघ पाल्पा शाखाले सदस्यता शुुद्धीकरणका विषयमा गरेको निर्णयप्रति महासंघका पदाधिकारी र सदस्यहरुले समेत आपत्ति जनाएका छन् । महासंघले आफु अनुकुलको मापदण्ड बनाएर सदस्यता शुद्धीकरणका लागि सिफारिस गर्ने निर्णयप्रति आफुहरुको आपत्ति रहेको युनियनमा आवद्ध पत्रकारहरुले बताएका छन् । महासंघका उपाध्यक्ष भरत शर्मा, कोषाध्यक्ष मुक्ति प्रसाद न्यौपाने, सदस्यहरु अनिल लिगल, दुर्गेश मल्ल र सुनिल कार्कीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै महासंघको निर्णयप्रति आफुहरुको असहमति रहेको बताएका हुन् । केन्द्रीय मापदण्ड अनुसार शुद्धीकरण गरिनुपर्ने माग उनीहरुको छ ।
महासंघ केन्द्रीय समितिले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड निर्देशिकामा जनप्रतिनिधि, निजामती तथा अन्य जुनसुकै सरकारी निकायको स्थायी, अस्थायी, करार सेवामा कार्यरत (मिडियासँग सम्बन्धित सरकारी र संस्थानबाहेक) तथा गैरसरकारी संस्था (सहकारी, बैंक, फाइनान्सलगायत अन्य संघ संस्था) मा पूर्णकालीन काम गर्नेको सदस्यता नवीकरण नहुने र नयाँ सदस्यता पनि प्राप्ति नहुने उल्लेख छ । त्यसैगरी मापदण्डमा महासंघको सदस्यता लिएका तर कहिलेकाहिँ मात्र पत्रकारिता गर्नेको समेत सदस्यता नवीकरण नहुने उल्लेख छ । तर महासंघ पाल्पा शाखाले भने उक्त मापदण्ड विपरित गएर राजनीतिक दलका पदाधिकारी/जिल्ला कमिटि सदस्य, स्थायी शिक्षक , स्थायी कर्मचारी, स्वेच्छिक राजीनामा दिएका व्यक्तिहरु र विदेशमा रहेका व्यक्तिहरु भनि मापदण्ड बनाई महासंघ प्रदेशमा सदस्यता शुद्धीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।