पाल्पा — पाल्पाको बगनासकाली गाउँपालिकाले जिल्लामै पहिलो सिभिल प्रयोगशाला स्थापना गरेको छ । बगनासकाली गाउँपालिका–९, चिलाङदीमा राखेको प्रयोगशालाको बिहीबार गाउँपालिका अध्यक्ष सरस्वती चिदीले उद्घाटन गरिन् ।
जिल्लाका १० वटै स्थानीय तहमा अहिलेसम्म सिभिल प्रयोगशाला थिएन । ‘यो प्रयोशालाले पाल्पाका सबै स्थानीय तहलाई फाइदा पुग्नेछ,’ उनले भनिन्, ‘अहिलेसम्म जिल्लामा प्रयोगशाला नहुँदा बाहिर जिल्ला र काठमाडौंसम्म पठाउनु पर्ने हुन्थ्यो ।’
गाउँपालिकामा हुने भौतिक निर्माण, संरचनालाई गुणस्तरीय, पारदर्शी बनाउन सिभिल प्रयोगशाला संचालनमा ल्याएको उनले बताइन् । पुल्चोक इन्जिनियरिङ कलेज, काठमाडौंबाट अनुमति प्राप्त सिभिल प्रयोगशाला सुरु भएपछि परीक्षणका लागि बाहिर जिल्ला धाउन नपर्ने गाउँपालिका उपाध्यक्ष हरि पाठकले बताए । २० लाखभन्दा बढीको लागतमा संचालनमा आएको प्रयोगशालालाई प्रभावकारी र पारदर्शी ढंगले संचालन गरेर राजस्व वृद्धि गर्ने लक्ष्य गाउँपालिकाको रहेको उनले बताए ।
अन्य प्रयोगशालामा भन्दा सस्तो, भरपर्दो र सही रिपोर्ट आउने गरी यहाँ संचालन हुने प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताए । सरकारी, गैरसरकारी तथा नीति भौतिक संरचनालाई समेत गुणस्तरीय बनाउन प्रयोगशालाको रिपोर्ट अनिवार्य गरिने उनले बताए । ‘जुनसुकै संरचना तयार गर्दा पनि गुणस्तर परीक्षणपछि मात्र भुक्तानी दिइने छ,’ उनले भने, ‘पालिकाको काममात्र होइन जिल्लाकै सबै पालिकाले यही प्रयोगशाला प्रयोग गर्ने वातावरण मिलाइने छ ।’
गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवरका अनुसार पालिकाले प्रयोगशालामा के गर्न सकिन्छ र कति शुल्क तिर्नुपर्छ भन्ने गाउँसभाले पास गर्ने तयारीमा छ । विभिन्न १५ प्रकारका सिभिल कामको प्रयोगशालामा जाँच गर्न सकिने उनले बताए । एग्रीगेट क्रसिङ भेल्यु टेस्ट, इम्प्याक्ट भेल्यु टेस्ट, फ्लाकिनेस इन्डेक्स, फिल्ड डेन्सिटी टेस्ट, प्रोक्टर कम्प्यासन, सिभ एनालाइसिसको जाँच हुन्छ ।
यस्तै कम्प्रेसिभ स्ट्रेन्थ अफ कन्क्रिट क्युब/मोर्टार, मेकिङ मोर्टार क्युब, स्लम्प टेस्ट, कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट, एवस्वरप्सन टेस्ट, मेजरमेन्ट अफ ब्रिक लगायतका जाँच हुने इन्जिनियर कुँवरले बताए । वडाध्यक्ष ठानेश्वर तिमिल्सेना, पत्रकार महासंघका जिल्ला सचिव यज्ञमूर्ति तिमिल्सेना, अमिन नेपालीलगायतले सिभिल प्रयोगशालाले काममा गुणस्तर कायम राख्न र बाहिर जिल्ला धाउन नपर्ने बताए ।