पाल्पा- पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ वरिष्ठ पत्रकार ८६ वर्षीय कमल कोइरालालाई प्रदान गरिएको छ । तानसेनमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पुष्पलालका समकालीन तथा वरिष्ठ पत्रकार कोइरालालाई यो पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कृत कोइराला एमालेको मुखपत्र दृष्टि साप्ताहिकका तत्कालीन प्रधान सम्पादक समेत हुन् । उनलाई एक लाख ११ हजार १ सय ११ नगद राशी सहित सम्मान पत्र, पाल्पाली ढाकाटोपी, ढाकाकै दोसल्ला ओढाएर सम्मान गरिएको हो । तानसेन नगरपालिकाले स्थापना गरेको उक्त पुरस्कार पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल पाल्पाले प्रदान गरेको हो । प्रदेश प्रमुख शेरचनले पुरस्कृत कोइरालालाई उक्त पुरस्कार प्रदान गर्दै पुरस्कार स्थापना गरेकोमा तानसेन नगर सरकार आभार व्यक्त गरे । उनले यस्ता ऐतिहासिक व्यक्ति र धरोहरहरुलाई सम्मानित गर्न पुरस्कार स्थापना गर्नु प्रशंसनिय रहेको बताए । लोकतन्त्र, प्रजातन्त्र स्थापनाको लागि महत्वपूर्ण भमिका खेलेका व्यक्तिहरुलाई नयाँ पुस्तामा चिनाउन र उनीहरुको योगदानलाई स्मरण गर्न यस्ता पुरस्कारहरुले महत्वपूूर्ण भूमिका खेल्नेमा प्रदेश प्रमुख शेरचनले विश्वास व्यक्त गरे । प्रदेश प्रमुख शेरचन र पुरस्कृत व्यक्ति कोइराला पुष्पलालका सहयात्री हुन् । पुरस्कृत कोइराला मातृका कोईरालाका एक मात्र छोरो हुन् । परिवारमा बाबु मातृका, माईला बाबु विपि र कान्छा बाबु गिरिजा कोईराला नेपाली काँग्रेसको धारमा देशको राजनीति गरे पनि कमल कोइराला भने बामपन्थी धारबाट पत्रकारिताको माध्यमबाट कम्युनिष्ट राजनीतिमा क्रियाशिल रहेका थिए । पुस्स्कृत व्यक्ति कोइरालाले आफुले केही पाउने भन्दा देशमा लोकतन्त्र, प्रजातन्त्र स्थापनामा आफु क्रियाशिल रहेको बताए । पुष्पलालको विचारबाट प्रभावित भई कम्युनिष्ट पार्टीको राजनीतिमा सक्रिय रहेको र उनै पुष्पलाल स्मृतीको नामबाट पुरस्कृत हुन पाउँदा अत्यन्त खुसी लागेको कोइरालाले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले तानसेन नगरपालिकाले जस्तै अन्य पालिकाहरुले पनि राष्ट्रिय व्यक्तिहरुलाई सम्मनित गर्ने गरी कार्यक्रम ल्याउन अनुरोध गरे । तानसेन नगरपालिकाका कार्यवाहक नगर प्रमुख प्रतिक्षा गाहा सिंजालीले नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहरका व्यक्तिहरुको नाममा प्रतिष्ठान गठन गरी प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेका व्यक्तिहरुलाई सम्झिने गरी पुरस्कार स्थापना गरेको बताइन् ।
प्रतिष्ठानका संरक्षक तथा निवर्तमान नगर प्रमुख अशोककुमार शाहीले प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुलाई नयाँ पुस्ताबिच चिनाउन र उनीहरुको योगदानको सम्मान गर्न विपी र पुष्पलाल स्मृती पत्रकारिता पुरस्कार स्थापना गरेको बताए ।
कार्यक्रममा विश्व प्रेस काउन्सीलका महासचिव किशोर श्रेष्ठले पुुरस्कृत कोइरालाको परिचय गराउँदै दृष्टि साप्ताहिकमा कोइरालाको नेतृत्वमा आफुले काम गरेको बताए । कोइरालाले दक्षिण कोरियाको राजदुत हँुदा पाएको तलव समेत व्यक्तिगत रुपमा प्रयोग नगरी पार्टीलाई बुझाएको महासचिव श्रेष्ठले बताए । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पुराना ऐतिहासिक व्यक्तिहरुलाई सम्मान गर्न तानसेन नगरपालिकाले राम्रो कामको शुरुवात गरेको बताए ।
विपि स्मृती प्रतिष्ठानका अध्यक्ष डा.टंकप्रसाद पन्तले आफुहरुले यसैगरी राष्ट्रिय व्यक्तिहरुलाई सम्मान गर्ने योजना रहेको बताए । प्रतिष्ठानका सह–सचिव गणेश ज्ञवालीले पुष्पलालको जीवनी बारे जानकारी गराएका थिए । प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराईको अध्यक्षता, सदस्य शुसिला श्रेष्ठको स्वागत, सदस्य सन्तोष खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।