गुल्मी, असार १७ ।
गुल्मीमा हालसम्म नौ प्रतिशत धान रोपाइँ भएको छ । मनसुनी कम वर्षा भएको कारण गत वर्ष भन्दा यो पटक रोपाइँ प्रतिशत घटेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
उहाँ अनुसार गत वर्ष यो समयमा २६ प्रतिशत भएको थियो भने अहिले नौ प्रतिशत मात्र धान रोपाइँ भएको छ । रासायनिक मल उपलब्ध भए पनि यस वर्ष ढिला गरी वर्षा भएकोले रोपाइँ प्रतिशतमा कम आएको छ ।
जिल्लाको काली गण्डकी गाउँपालिकाको अर्वेनी, कनौटा, छाप चौर, सत्यवती गाउँपालिकाको लिम्घा, अस्लेवा, जोहाङ्गखैरेनी, साहाघाट, च्यामी फाँट, चन्द्रकोट गाउँपालिकाको मजुवा, रुपाकोट, शान्तिपुर, मुसिकोट नगरपालिकाको तल्लाफाँट, ईन्द्रेगौडा, भुवाचिदि, वामीटक्सार, पौदी अरेवा, भर्माचौर लगायत बडिघाट खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फुलबारी, शिलादीमा रोपाइँ गरिन्छ ।
त्यस्तै, मदाने गाउँपालिकाको सिर्सेनीको सिम, अग्लुङ्ग फेदी, भनभनेको तल्लो क्षेत्र, धुर्कोट गाउँपालिकाको पनाहा खोला र छल्दीको आसपासका क्षेत्र, ईश्मा गाउँपालिकाको चौरासी फाँट, हुलाके, हसतिचौर लगायत छल्दी र निस्ती, गुल्मीदरवार गाउँपालिकाको गरमटारी, खर्जेङ, घोडाहाफाँट, टारी फाँट, छत्रकोट गाउँपालिकाको खर्जेङ, मनबाग, अँगा, उल्लिखोला, बोआ फाँट र रुरु क्षेत्र गाउँपालिकाको टाहाटिम, घिउबेसी, छम्दीमा धान रोपाइँ गरिन्छ ।
यहाँ ९२ प्रतिशतभन्दा बढी जग्गामा धान रोपाइँ भएको छ । मकै खेती गरिएको र चैते धान रोपिएको बेँसीका खेतहरूमा धान रोप्न बाँकी रहेको छ । चैते धानको रूपमा स्थानीय मार्सी, सिएच–४५, चैते ५ र हर्दिनाथ १ रोपिन्छ । चैते धान ३५० हेक्टरमा र बर्से धान ८ हजार ८०३ हेक्टरमा गरी जम्मा ९ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।
हंसराज, आपझोते, झाप्री, काठे, झिनुवा, सानो भट्टे, ठुलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी जातका धान रोप्ने गरिन्छ । उन्नत जातका सावाँ मन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली जातका धान रोपिन्छ ।