रामपुर (पाल्पा), रामपुर नगरपालिकामा संचालन भएको रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको प्रगति समीक्षा, सामाजिक परिक्षण तथा परियोजनाको समापन र हस्तान्तरण कार्यक्रम भएको छ । रामपुर नगरपालिका हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा पछौटेपन उन्मुलन समाज (बेस) नेपालको सहजिकरणमा परियोजना संचालन भएको हो ।
परियोजनाले रामपुर नगरपालिका भित्र गरेका विभिन्न कार्यक्रमको आज जानकारी दिइएको छ । रामपुर नगरपालिकामा २७ महिनासम्म संचालन भएको रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजनाले सुरु देखि गरेको कामका बारेमा संयोजक सन्जु परियारले सहजिकरण गर्नुभएको हो । कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख थापाले नगरपालिकाले परियोजना संचालनमा आएपछि समुहमार्फत केही गर्छु भन्ने आशा र ईच्छा बोकेका नागरिकलाई सहयोग गरिएको बताउनुभयो ।
अनुदान देखिने र समाजमा पहिचान दिने गरी कार्यान्वयन गरेर काम गरियो भने यसले समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुहुदै नगर प्रमुख थापाले यस परियोजनाबाट धेरै स्थानीय लाभान्वित भएको बताउनुभएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले परियोजना अगाडि बढाउने कि नबढाउने भन्ने विषयमा नगरपालिकाले छलफल गर्ने बताउनुभएको छ । परियोजना रामपुरमा संचालनमा आएपछि व्यावसायिक बाख्रापालनमा लागेको र समुहमा आबद्ध महिलाहरुको क्षमता विकास, नेतृत्व विकास भएको उपप्रमुख थापा बताउनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले यस कार्यक्रमको निरन्तरता आवश्यक रहेको हुदा आगामि दिनमा कार्यक्रमका क्रियाकलाप, संचालन कसरी गर्ने यश विषयमा योजना बनाएर काम गर्नुपर्ने बताउनुभएको छ । परियोजनाले गरेका कामको सीताकुण्ड मिडिया प्रालीले परियोजनाले गरेका कामको उपलब्धिका बारेमा अनुगमन गरी प्रतीवेदन सार्वजनिक गरेको छ । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको हो । सहभागीलाई बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेयले परियोजनाका गतिविधिबारे जानकारी दिनुहुदै स्वागत गर्नुभएको छ । सीताकुण्ड मिडिया प्रालीका अध्यक्ष दुर्गेश मल्लले परियोजनाका गतिविधि प्रतीवेदन प्रस्तुत गर्नुहुदै समुहलाई थप तालिम, बाख्राको खोर निर्माण थप सहयोग, सबै समुहका सदस्यलाई बाख्रा वितरण गर्नुपर्ने लगायतका राय सुझाव दिनुभएको छ ।
कार्यक्रममा रामपुर नगरपालिकाका आर्थिक विकास संयोजक तथा कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतम, कृषि शाखा प्रमुख रामहरी पाण्डेय, पशु शाखा प्रमुख तुल्सिराम काफ्ले लगायतले आफ्ना भनाइ राख्नुभएको छ । कार्यक्रमको संचालन परियोजनाका रामपुर संयोजक सन्जु परियारले गर्नुभएको हो । रामपुरमा विसं २०७८ वैशाख ३० गते सम्झौता भई कार्यक्रम संचालन गरिएको हो । रामपुर नगरपालिकाको ७५% र हेफर प्रोजेक्ट नेपालको २५% रकम साझेदारीमा संचालन भई कार्यक्रम अवधिभर ४२१ माउ बाख्रा, ५७ वटा बोका, घासको बीउ, जुकामाटेको औषधि वितरण तथा विभिन्न तालिम मुल समूह, उपहार समुह र युवा समुहलाइ प्रदान गरिएको छ ।