काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । साउनको अन्तिमसम्ममा नतिजा प्रकाशन गर्ने तयारी रहेको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ ।
बोर्डले गत वैशाख-जेठमा लिएको परीक्षामा देशभरका ४ लाख ६७ हजार ३ सय विद्यार्थी सहभागी थिए । नतिजा प्रकाशनका लागि विद्यार्थीको उत्तरपुस्तिका परीक्षण र संपरीक्षणको काम सकेर अहिले रुजु र कम्प्युटरमा इन्ट्रि गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।
अघिल्लो वर्षको १२ कक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन ग्रेडेड अर्थात् फेल भएका थिए । यस पटकको नतिजामा केही सुधार हुनसक्ने बोर्डले जनाएको छ ।