आज २९ औँ विश्व आदिवासी दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै, कोशी प्रदेशमा सार्वजनिक विदा

काठमाडौँ । आज अगस्ट ९ अर्थात विश्व आदिवासी तथा जनजाती दिवस । विश्वभरका आदिवासी समुदायले विभिन्न कार्यक्रम गरी आज २९ औं दिवस मनाउँदै छन् । यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् ।

यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्व भूमण्डलीकरण, आधुनिकीकरण, निजीकरण, बजारमुखी उत्पादन प्रणाली, वातावरणीय ह्रासबाट विश्वभरिका आदिवासी जनजातिहरूका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा परेका प्रतिकूल असरबाट उनीहरूलाई बचाउनु, उनीहरूका विकास गर्नु र अधिकार तथा भाषा संस्कृतिको संरक्षण÷संवर्द्धन गर्नु हो । त्यसका लागि संयुक्त राष्ट्र संघले आफू अन्तर्गतका विभिन्न निकायहरू, सदस्य राष्ट्रहरू तथा विभिन्न तहका सरकारी तथा गैरसरकारी संघरसंस्थाहरूलाई विशेष कार्यक्रम बनाई लागु गर्न आह्वान गरेको छ ।

नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष नारा र कार्यक्रमसहित आदिवासी जनजातिहरूको अधिकारमुखी आन्दोलनको रूपमा मनाउँदै आएका छन् । यसैबीच कोशी प्रदेश सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो। अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको प्रदेश सरकारले जनाएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरेरै बिदाको जानकारी दिएको हो। प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

संयुक्त राष्ट्र संघको पछिल्लो तथ्याङ्क अनुसार विश्वभरि आदिवासी जनजातिको जनसङ्ख्या ५० करोड पुगेको छ, जुन विश्व जनसङ्ख्याको ६।२ प्रतिशत हो । विश्वका ९० देशमा बसोवास गर्ने ५००० भन्दा बढी समुदायका यी जनजातिहरू भाषा, संस्कृति, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतको धनी समुदाय मानिन्छन् । तर, यिनीहरू अधिकार तथा आर्थिक विकासको दृष्टिकोणले संसारका सबैभन्दा उत्पीडित र विपन्न वर्ग समुदायमा पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च