तानसेन । पाल्पाको रैनादेवि छहरा गाउँपालिकाले एक करोड ११ लाख बराबरको राजस्व सकंलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा ६९ लाख ६५ हजार आन्तरिक आम्दानी गरेको पालिकाले आर्थिक वर्ष २०७९/०८० मा भने एक करोड ११ लाख ४७ हजार राजश्व संकलन गरेको छ ।
पालिकाले अघिल्लो आर्थिक बर्ष भन्दा ४१ लाख ८१ हजार आम्दानी गरेको गाउँपालिका उपाध्यक्ष युवराज थापाले बताउनुभयो । यो ६० दशमलव ०३ प्रतिशत बढी हो ।
गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ९० लाख आन्तरीक आम्दानी गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ ।
वडागत रुपमा विश्लेषण गर्दा ३ नंं वडा कार्यालय भुवनपोखरीले सबैभन्दा बढी आठ लाख ७४ हजार आठ सय ५३ राजश्व संकलन गरेको छ भने सबै भन्दा कम १ नं. वडा कार्यालय सिद्धेश्वरले दुइ लाख ३९ हजार पाँच सय ७८ राजश्व संकलन गरेको छ । वडागत रुपमा वडा नंं. २ सोमादीले सात लाख ५० हजार चार सय ५९, वडा नं ४ छहराले आठ लाख ६४ हजार चार सय पाँच, वडा न. ५ मुझुङले ६ लाख ५३ हजार सात सय ५९, वडा नंं. ६ जुठापौवाले चार लाख ५२ हजार २७ , वडा नं ७ बल्ढेगढीले पाँच लाख ८५ हजार चार सय ६ , वडा नंं. ७ सत्यवतीले पाँच लाख दुइ हजार नौ सय ९४ , पालिका कार्यालयबाट २० लाख चार हजार आठ सय ३१ र बैकबाट ४२ लाख १८ हजार सात सय राजश्व संकलन भएको उपाध्यक्ष थापाले बताउनुभयो ।
पालिकाले विभिन्न १६ वटा शिर्षकमा राजश्व संकलन गरेको छ । सबैभन्दा बढी रोयल्टीबाट ३१ लाख ४६ हजार दुइ सय नौँ राजश्व संकलन गरेको छ भने वातावरण शुल्कबाट १८ लाख राजश्व उठाएको छ । यसैगरी निकासी करबाट १३ लाख ३७ हजार ६ सय ४१, सिफारिस दस्तुरबाट १२ लाख ४४ हजार नौँ सय ३५, भुमिकर मालपोतबाट ६ लाख ५७ हजार ७ सय ४२, व्यवसायकरबाट ५ लाख ९७ हजार ६ सय १९, व्यक्तिगत घटनादर्ताबाट ५ लाख ९ हजार ४५ राजश्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जानकारी दिनुभयो ।
यस्तै पालिकाले गएको चालु आ.व.मा दण्डजरिवानाबाट ५५ हजार सात सय ३९, विविधबाट ८१ हजार पाँच सय १६, बेरुजु असुलीबाट चार लाख ४६ हजार आठ सय ४९, कवाडीकरबाट एक लाख ५१ हजार एक सय, अन्यदस्तुरबाट एक लाख ५६ हजार एक सय ४८, नाताप्रमाणितबाट ९३ हजार दुइ सय ५०, बहाल विरौटा करबाट १० हजार चार सय ५०, घर बहाल कर वापत ३ लाख १५ हजार दुइ सय १८ र सम्पत्तीकर वापत चार लाख ६२ हजार ६ सय ५८ संकलन गरेको छ ।