बगनासकाली गाउँपालिकामा मनाइयो २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस

पाल्पा ।‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वयमसेविकाको संयुक्त प्रयास’ भन्ने नारासहित मंगलबार २० औं महिला स्वास्थ्य स्वयंसेविका दिवस पाल्पामा पनि विभिन्न कार्यक्रमसहित मनाइएको छ ।
जिल्लास्थित स्थानीय तह र सम्बद्ध संस्थाहरूले महिला स्वास्थ्य स्वयंसेविका सम्मान, प्रतियोगिता, सचेतनामूलक अभियान लगायतका कार्यक्रम गरी मनाएका दिवस अवसरमा हुन् । यसै सन्र्दभमा जिल्लाको बगनासकाली गाउँपालिकामा भएको कार्यक्रममा पालिकाभित्रका सवै महिला स्वास्थ्य स्वयंसेविका सम्मानसहित मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम गरी मनाइएको थियो ।

कार्यक्रममा बोल्द गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले दिवसले महिलाहरूमा उर्जासहित समुदायमा थप सक्रियताका साथ काम गर्न सहयोग पु¥याउने भन्दै उच्च मनोवलका साथ समुदायमा बनाएको पहिचानलाई सशक्त बनाउन आग्रह गर्नुभयो । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले दिवस महिलाहरूमा उत्साह भर्ने अभियान भएकोले यस्ता महत्त्वपूर्ण कार्यक्रममा महिलाहरूलाई सामुदायिक स्वास्थ्य शिक्षा पहुँच वृद्धिमा सहयोगी हुने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले आगामी दिनमा गाउँपालिकाको स्रोत साधन पहिचन गरी दिवसलाई थप परिस्कृत र स्वास्थ्य स्वयंमसेविकामैत्री कार्यक्रमका साथ अगाडि बढाइने बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका समाजमा सकारात्मक रहेको बताउनुभयो । स्वयंसेविकाको तर्फबाट प्रतिनिधिमूलक भनाई राख्दै स्वयम्सेविका कमला रेग्मीले कम सुविधामा २४ सै घण्टा खटिने महिला स्वास्थ्य स्वयंम सेविकाहरूलाई सेवा अनुसारको सुविधा राज्यले नदिएको गुनासो गर्नुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको लागि सेवा रजिष्टर, प्राथमिक स्वास्थ्य उपचार राख्ने किटवक्सजस्ता सामान्य सामग्रीसमेत उपलब्ध नहुँदा सेवा प्रवाह असहज भएको बताउनुभयो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले कार्यक्रमको सञ्चालनसँगै स्वास्थ्य सम्बन्धी जानकारी प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा वडा नं.६ यम्घा स्वास्थ्य चौकी प्रमुख रामप्रसाद न्यौपानेले मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक प्रस्तुती राख्नुभएको थियो । वडा नं. १ मा कार्यरत स्वास्थ्य स्वयंमसेविका विष्णुमाया चिदीको अध्यक्षता, गाउँपालिकामा कार्यरत सिअनमी संगीता थापाको स्वागत स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपालमा स्वयंसेविकाहरूले परिवार नियोजनबारे चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम, सञ्चालन, स्वास्थ्य शिक्षा प्रदानजस्ता काम गर्दै आएका छन् । यो दिवस अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ ।
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले सामुदायिक स्वास्थ्यमा योगदान पु¥याउँदै आएका छन् । विशेषत मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना आदि विषयमा समुदायमा जनचेतना अभिवृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्यसम्बन्धी सूचना तथा सेवाहरूको पहुँचमा वृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उनीहरूले काम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च