पाल्पा, माघ ११
पूर्वखोलाका गाउँपालिका वडा न. २ जल्पामा महिलाहरुको क्षमता अभिवृद्धिको लागी आयोजित ५ दिने तालिम कार्यशाला जल्पामा सम्पन्न भएको छ ।
पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग तथा जल्पा महिला कल्याण परिवारको आयोजनामा ७ देखि ११ गते सम्म भएको कार्यशालामा मन्चिय उद्घोषण, भाषण कला, नेतृत्व र ब्यक्तित्व विकास, सकारात्मक सोच, महिला उद्यमी, घरेलु तथा महिला हिंसा रोकथामका उपाय , आर्थिक ब्यवस्थापन , लगानी र बचत लगाएतका विषयमा सहजीकरण भएको आयोजक जल्पा महिला कल्याण परिवारका अध्यक्ष लिला सारुले बताउनुभयो ।
तालिम कार्यशालाको समापन कार्यक्रममा प्रमाणपत्र वितरण तथा शुभकामना प्रदान गर्दे प्रतिनिधि सभा सदस्य नारायण आचार्यले ब्यवहारिक ज्ञानले ब्यक्तित्व र नेतृत्व विकासमा सहयोग पुग्ने बताउनुभयो ।
महिला उद्यमको विकास र विस्तारका लागी स्थानीय , प्रदेश सरकारसंगै संघिय सरकारपनि साथमै रहेको उहाँको भनाई थियो । महिला एकतामा जोड दिदै प्रतिनिधि सभा सदस्य आचार्यले आफुलाई पर्ने कुनै पनि समस्याका बारेमा परिवार , छिमेक र समाजमा रहेका दिदिवहिनीहरु संग छलफल र परामर्सपछि समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य खेम बहादुर सारुले तालिममा सिकेका ज्ञानलाई ब्यवहारमा उतार्न आग्रह गर्दे सिप सिकेर आत्म निर्भर हुन सके समृद्धि प्राप्त हुने बताउनुभयो । महिलाहरुको उत्थान र ब्यवशायमा प्रेरित गर्ने कार्यक्रमलाई गाउँपालिकाले विशेष ध्यान दिएको बताउँदै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले आर्थिक ब्यवस्थापनका पाटोमा पुरुष भन्दा महिलाहरुको ठुलो भूमिका रहने बताउनुभयो । कमाउनु भन्दा जोगाउनु ठुलो कुरा भएको अध्यक्ष थापाको भनाई थियो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागीरथी भट्टराईले निर्धक्क भएर विना संकोच आफ्ना मनका कुराहरु राख्नुपर्नेमा जोड दिदै घर, गाउँ र समाजको विकासका लागी महिला शिक्षा , चेतना र एकताको ठूलो महत्व रहेको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठ र स्थानिय शुभसन्देश कृषि सहकारीका अध्यक्ष चन्द्रीसरा रखालले महिलाहरुले भोग्नुपरेको घरेलु तथा सवै प्रकारका हिंसाको अन्त्य हुनुपर्नेमा जोड दिदै स्थानीय क्षेत्रमा रहेका विकृती विसंगती हताउनु पनि आवश्यक रहेको बताउनुभयो ।
कार्यशालामा सहभागी ललिता विकले तालिममा सिकेका ब्यवहारिक ज्ञानलाई प्रयोग गर्ने अवसर हुनुपर्ने बताउनुभयो । ५ दिने कार्यशालामा श्रीनगर एफ,एमका स्टेशन म्यानेजर देब पचभैया, सुपादेउराली खवर अनलाईनका सम्पादक दिपक भट्टराई, पत्रकार अनिल लिगल लगाएतले सहजीकरण गरेका हुन ।
कार्यक्रममा वडाका १३ महिला समुहलाई आफ्ना महत्वपूर्ण कागजात सुरक्षित राख्ने वाकस, आवश्यक स्टेशनरीका सामाग्रीहरु समेत प्रदान गरिएको जल्पा महिला कल्याण परिवारका सचिव तथा तालिम संयोजक टोलसरी थापा, दर्लामीले जानकारी दिनुभयो । तालिममा महिला समुहहरु बाट ४० बढीको सहभागीता थियो ।