पाल्पा,
राष्ट्रपति र प्रधानमन्त्रीसँग पाल्पा तानसेनमा मनाइँदै आएको ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय पर्व बनाउन माग गरिएको छ । शुक्रबार तानसेन नगरपालिकाको नेतृत्वमा नगरपालिका प्रमुख, उपप्रमुख, प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरे तथा विभिन्न राजनीतिक दलका नेताहरू र भगवती मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू सहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डलाइ भेटघाट गर्दै माग पत्र पेश गरेको थियो ।
टोलीले बुझाएको राष्ट्रिय पर्वका रूपमा मान्यता दिनुहुन भन्ने अनुरोध पत्रका सम्बन्धमा राष्ट्रपति र प्रधानमन्त्री दुवै सकारात्मक हुनुभएको तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले देशकै गौरव गर्ने इतिहासको साक्षी रहेको भगवती जात्राको महिमालाइ देश तथा विदेशमा प्रवद्र्धन गर्न देशका प्रमुख व्यक्तित्वसँग भेटघाट कार्यक्रम गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, नेपाल अंग्रेज यूद्ध जितेको ऐतिहासिक सम्झना स्वरुप मनाईने भगवती जात्रा पाल्पाकोमात्र नभएर नेपालकै गौरवको विषय हो, तसर्थ पाल्पाली सबैको प्रतिनिधित्व गर्दै ध्यानाकर्षण भेटघाट गरिएको हो ।
पाल्पाको तानसेनमा मनाईने ऐतिहासिक भगवती जात्रामा उच्च पदस्थ व्यक्तिहरुको सहभागिताका लागि अनुरोध सहित राष्ट्रिय पर्व मनाउनुपर्ने माग राख्दै पाल्पाली टोलीले अनुरोध पत्र बुझाएको हो ।
नेपाल अंग्रेज (नुवाकोट जितगढी) युद्धको विजयोत्सवका रूपमा मनाइने भगवती रथयात्रालाई राष्ट्रिय महत्वको दिनका रूपमा विकास गर्न र राष्ट्रप्रमुख वा सरकार प्रमुखको उपस्थिति अनिवार्य बनाउन अनुरोध समेत गरिएको तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनुभयो । स्थानीय तथा प्रदेश सरकारले समेत राष्ट्रियता, वीरता, धीरता र रणकौशलको इतिहास बोकेको भगवती खट जात्रालाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिनुपर्ने माग सहित भाद्र कृष्ण नवमीको दिन स्थानीय विदा दिँदै आएका छन् ।