पाल्पाका दश पालिकामध्ये तिनाउको सबैभन्दा कम बेरुजु

पाल्पा । पाल्पाका दश स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु तिनाउ गाउँपालिकाको आएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को ६१ औ वार्षिक प्रतिवेदन अनुसार तिनाउ गाउँपालिकाको सबैभन्दा कम बेरुजु आएको हो ।

तिनाउ गाउँपालिकाको ९८ करोड १८ लाख ५५ हजार रुपैंयाको लेखापरिक्षण गर्दा पाल्पामा सबैभन्दा कम बेरुजु आएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बेरुजु रकम जम्मा ६९ लाख २७ हजार रुपैंया मात्र रहेको छ । तिनाउको यो बेरुजु ०.७१ प्रतिशत मात्र हो ।

गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले गाउँपालिकाले आर्थिक अनुशासन र नियममा रहेर योजना तथा कार्यान्वयन सञ्चालन गर्दा गाउँपालिकाको कम बेरुजु आएको बताउनुभयो । गाउँपालिका अध्यक्ष श्रेष्ठले उक्त बेरुजु पनि प्रक्रियागत समस्याले आएको भन्दै त्यसलाई समाधान गर्नेतर्फ लाग्ने बताउनुभयो । श्रेष्ठले स्थानीय तहले बेरुजु घटाएर मात्र योजना तथा कार्यक्रम सञ्चालन गर्दा आर्थिक वृद्धिदर बढाउन सकिने बताउनुभयो ।

पाल्पामा सबैभन्दा धेरै बेरुजु पुर्वखोला गाउँपालिकाको रहेको छ । पुर्वखोलाको गत आर्थिक वर्षमा ७ करोड १७ लाख २५ हजार अर्थात ५.७४ प्रतिशत बेरुजु रहेको छ । त्यस्तै गत आर्थिक वर्षमा निस्दी गाउँपालिकाको ५ करोड ८ लाख ६६ हजार अर्थात ३.३३ प्रतिशत, माथागढी गाउँपालिकाको ४ करोड १ लाख ९४ हजार अर्थात २.७९ प्रतिशत, रम्भा गाउँपालिकाको २ करोड ३८ लाख ५४ हजार अर्थात २.०१ प्रतिशत, तानसेन नगरपालिकाको ३ करोड २ लाख ३३ हजार अर्थात १.७९ प्रतिशत बेरुजु रहेको छ ।

त्यस्तै गत आर्थिक वर्षमा रामपुर नगरपालिकाको २ करोड १६ लाख ९४ हजार अर्थात १.२७ प्रतिशत, रैनादेवी छहरा गाउँपालिकाको १ करोड ४३ लाख ३४ हजार अर्थात १.२३ प्रतिशत, त्यस्तै रिब्दीकोट गाउँपालिकाको ९३ लाख ८६ हजार अर्थात १.०७ प्रतिशत र बगनासकाली गाउँपालिकाको ९८ लाख ७९ हजार अर्थात १.०१ प्रतिशत बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च