तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ लामो समयपछि गिजनचौर र छापमा विजुली बाल्न सफल हुनुभएको छ । अध्यक्ष श्रेष्ठले वडा नं. ४ गिजनचौर र छापमा लामो समयदेखि राष्ट्रिय प्रशारण लाईन जोड्न पहल गरिरहनुभएको थियो ।
श्रेष्ठको पहलमा तिनाउ गाउँपालिका वडा नं. ४ मा पहिलो पटक राष्ट्रिय प्रशारण बिधुत जडान भएको छ । २०६३ सालमा लघु जलविद्युत आयोजना निर्माण गरी साविक कोलडाडाका २ र ३ वडा गिजनचौर र छाप गाउँमा बिजुली बालेका स्थानीयहरु अहिले गाउँमा पहिलो पटक राष्ट्रिय प्रशारणको बिधुत जडान गरेर बिजुली बल्दा स्थानीयहरू निकै हर्षित भएका छन् ।
पाल्पाको माथागढी हुदै तिनाउँको सत्यवती क्षेत्रमा करिव ५ करोड बढी लगानी गरेर विद्युतीकरणको योजना पूरा भएपछि १ सय ३३ घरपरिवारले पहिलो पटक बिजुलीबत्ती बाल्न पाएको स्थानीय गन बहादुर रानाले बताउनुभयो ।
तिनाउँ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले निरन्तरको प्रयासले गाउँमा बिजुली बाल्न सफल भएको बताउदै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन विस्तार गरिएपछि सत्यवती क्षेत्रका नागरिकलाई लघु जलविद्युत बाट मुक्त पारेर उज्यालो गाउँपालिका बनाउने अभियान अन्तर्गत गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण पाल्पाको सहयोगमा उक्त ठाउँका घरधुरीमा विद्युतीकरण गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । अध्यक्ष श्रेष्ठका अनुसार बिजुली सुविधा नपुगेका अन्य ठाउँमा पनि क्रमशः विद्युतीकरण गर्दै जाने गाउँपालिकाको अभियान रहेको उहाँको भनाई छ ।
नेपाल विद्युत् प्राधिकरण पाल्पाका प्रमुख दिलिप मरासिनी र तिनाउँ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले आज तिनाउँ ४ मा राष्ट्रिय प्रशारण बिधुत उद्घाटन गर्दै गाउँपालिकाको विकासको अभियानमा अगाडि बढेको बताउनु भएको छ । उक्त कार्यक्रममा वडा अध्यक्ष तुल बहादुर आले, स्थानीय जनप्रतिनिधि, स्थानीयबासी नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको सहभागीतामा कार्यक्रम गरिएको हो ।