तानसेन। पाल्पा घुम्न आएका भारतिय नागरिकको तिनाउ खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमद रहेको प्रहरीले जनाएको छ ।
शनिबारर मध्याह्न १२ बजेतिर दुई जना साथीसँगै पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिनाउ खोलामा नुहाउने क्रममा खोलामा डुबेका अहमदको उपचारका लागि अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।
खोलामा डुबेर गम्भीर घाइते भएका अहमदलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।
तिनाउ खोलामा प्रत्येक वर्ष गर्मी मौसममा घुम्न र नुहाउने मानिसले ज्यान गुमाउदै आएको तथ्यांक छ । यो वर्षको वैशाखदेखि हालसम्म सोही क्षेत्रमा डुबेर पाँच जनाको मृत्यु भइसकेको पाल्पा प्रहरीले जनाएको छ ।