तानसेन। तानसेन नगरपालिकाको नगर गौरवको योजना डुम्रे-गुफाचौर-होलाङ्दी सडक शिलान्यास गरिएको छ । तानसेन नगरपालिका-८ डुम्रेदेखि वडा नम्बर १० गुफाचौर हुँदै होलाङ्दी सडकको शिलान्यास भएको हो । तानसेन नगरपालिकाले विश्व बैंकसँग सम्झौता गरी सडक स्तरोन्नति र कालोपत्रे गर्ने गरि सम्झौता गरेको थियो । तानसेन नगरपालिकाको गौरव योजनाका रूपमा रहेको पर्यटकीय सडकले प्रत्यक्ष रुपमा डुम्रे खोला–सुनडाँडा–तेल्घा–गुफाचौर–गाउँडाँडा–सल्लाघारी–होलाङ्दीसम्मका जनतालाई फाइदा पुग्ने छ । विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुने पर्यटकीय सडक स्तरोन्नतिका लागि तानसेन नगरपालिका र वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालिबीच सम्झौता भएको छ ।
सडकको शिलान्यास गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उक्त पर्यटकीय सडक तानसेन नगरपालिकाको गौरव योजनाको रहेको बताए । सडकको योजनाका लागि नगर सरकारले धेरै प्रयास गरेको बताए । सडक निर्माण भएपछि तानसेन वडा न वडा नम्बर ८ ,१० ,११ र ५ का नागरिकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने नगर प्रमुख श्रेष्ठले बताए । सडक स्तरोन्नति र कालोपत्रे भएपछि वडाहरूका कृषि उपजहरूको बजारीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
तानसेन नगरपालिकाको अधिकाश भुभाग ग्रामीण परिवेशमा आधारित छ । विशेषगरी तानसेन नगरपालिकाका ग्रामीण भेगका नागरिकहरू कृषि पेशामा आवद्व रहेको बताए । सडकको काम सम्पन्न भएको पछि ग्रामीण परिवेशका ४ वटा वडाका नागरिकलाई यात्राको लागि र कृषि उपजको बजारीकरण लागि सहजता हुने बताए । पछिल्लो समयमा तानसेन १० को गुफा चौर पर्यटकको रोजाइ बनिरहेको बताए । आगामी दिनमा सडक स्तरोन्नति र कालोपत्रे भएपछि यस क्षेत्रको पर्यटन प्रवर्द्वनमा थप टेवा पुग्ने बताए । कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङ्जालीले नगरपालिकाले सडकलाई कृषि मार्गको रूपमा अगाडि बढाउने सोचका साथ बिशेष प्राथमिकता राखेको बताइन । नगर सरकारले विशेषगरी यस क्षेत्रबाट उत्पादित कृषि उपजको सहज रूपमा बजारीकरण गर्न सडकले सहयोग पुर्याउने अपेक्षाले सडकलाई प्राथमिकता राखेको बताइन ।
नगरपालिकाले सडकलाई पर्यटक मार्गको रूपमा विकास गर्ने हेतुले पनि प्राथमिकता राखेको बताइन । गुफाचौर आफैमा प्राकृतिक रूपमा निर्माण भएको पर्यटकिय सम्भावना बोकेको क्षेत्र रहेकोले नगरपालिकाले उक्त सडकलाई पर्यटकीय मार्गको रूपमा विकास गर्न प्राथमिकतामा राखेको बताइन । त्यस्तै यात्रुहरू तानसेन नगरपालिकामा प्रवेश गर्दै गर्दा एकवटा मात्र सडक रहेकोले यो सडक निर्माण सम्पन्न भएपछि वैकल्पिक सडक मार्गको रूपमा पनि प्रयोग गर्न सकिने सम्भावना रहेकोले नगरपालिकाको कार्यपालिका बैठकबाट विशेष प्राथमिकतामा राखेको बजेटको लागि पहल गरेको बताइन । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले आयोजना कुल रकम ४५ करोड ७६ लाख ८३ हजार ८४ रूपैयाँ ७७ पैसामा सम्झौता भएको बताए । बाटो स्तरोन्नति भएपछि गुफाचौर जाने पर्यटकहरूमा वृद्धि हुने, स्थानीय स्तरमा होटल रेष्टुराहरू सञ्चालन हुने, कृषि उत्पादन तथा पशुपालनमा वृद्धि हुने, स्थानीयहरूको आयआर्जनमा वृद्धि हुँदै समग्रमा तानसेनको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागिलाले १३ महिनाभित्र काम सम्पन्न हुने गरि आयोजनाबाट ६ दशमलव ८ किलोमिटर सडकको स्तरोन्नति हुने बताए । तानसेन वडा न १० का स्थानीय सुरेश बोहोराले सडक स्तरोन्नति र कालोपत्रेको काम सम्पन्न भएपछि यश क्षेत्रका कृषकहरूले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा टेवा पुग्ने बताए । बिशेषगरि बर्खाको समयमा सडक पहिरोको कारण अवरुद्ध हुदा कृषकहरूको तरकारी नष्ट हुने अवस्था थियो । ग्रामीण भेगका कतिपय कृषकहरूले कृषि कर्मबाट गुजारा गरेका छन । सडक स्तरोन्नति र कालोपत्रे पश्चात् कृषकलाई ठुलो राहत मिल्ने बताए ।
तानसेन वडा न १० गाउँडाँडाका धन बहादुर रानाले कच्ची सडक र बर्षातको समयमा पहिरोका कारण सडक अबरुद्ध हुदा यात्रा गर्न असहज परिस्थिति रहेको बताए । अहिले सडक स्तरोन्नति र कालोपत्रे शुरू भएको छ । हामी खुशी छौ । विशेषगरी यो सडक डुम्रे खोला–सुनडाँडा–तेल्घा–गुफाचौर–गाउँडाँडा–सल्लाघारी–होलाङ्दीसम्म रहे पनि यो पटक गुफाचौर सम्म मात्र स्तरोन्नति र कालोपत्रे हुने भएकाले आगामी बर्षहरूमा गुफाचौर–गाउँडाँडा–सल्लाघारी–होलाङ्दीसम्म सडक स्तरोन्नति र कालोपत्रे हुनुपर्ने माग वडा न ११,५ र वडा न १० कै गाउँडाँडा लगाएतका स्थानीय रहेको बताए । कार्यक्रममा वडा ७ का वडा अध्यक्ष प्रदिप खनाल,वडा न ८ का वडा अध्यक्ष सोमनाथ अर्याल, वडा न ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल, कार्यपालिका सदस्यहरू,वडाका जनप्रतिनिधि,राजनीति दलका प्रतिनिधि,बुद्धिजीवी,समाजसेवी एवं स्थानीयहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको तानसेन नगरपालिका वडा न १० का वडा अध्यक्ष हिमलाल पंगेनीको अध्यक्षता र नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो ।