स्वास्थ्यमन्त्रीकाे याेजनाअनुसार स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकारमातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत–सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र आविष्कार केन्द्रका तर्फबाट अध्यक्ष डा. महावीर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सीमित स्रोत–साधनबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गर्न लागिएको बताए ।

मन्त्री पौडेलले भने, ‘हामीले साधन–स्रोत बढाएर तत्काल आवश्यकताअनुसारका उपकरण खरिद गर्न सक्ने अवस्था छैन, त्यसकारण अहिले हामीसँग भएका उपकरणलाई बढीभन्दा बढी प्रयोगमा ल्याउने सन्दर्भमा गरिएको सम्झौता महत्त्वपूर्ण प्रयास रहेको छ ।’

अस्पतालमा प्रयोग हुन नसकेर थन्किएका उपकरणलाई प्रयोगमा ल्याउन सकिएमा नयाँ खरिद गर्न लाग्ने ठूलो खर्च जोगिने उल्लेख गर्दै मन्त्री पौडेलले थोरै खर्चमा त्यस्ता सामग्री मर्मत र व्यवस्थापन गर्ने कामको थालनी भएको बताए । ‘मर्मत र अरू ढंगले उपयोगमा ल्याउन नसकिने सामग्री अस्पतालमा छन्, प्रयोगमा आउने र नआउने छुट्याएर सोहीअनुरूप व्यवस्थापन गर्न जरुरी छ । त्यो काम गर्दा अस्पताल सफा हुने र कम खर्चमा उपकरण प्राप्त हुने भएका कारण आविष्कार केन्द्रसँग सहकार्य गर्न लागिएको हो,’ उनले भने ।

मुलुकको प्रसिद्ध र स्थापित संस्था तथा विश्वास आर्जन गरिरहेको नेतृत्वलाई मन्त्रालयको महत्त्वपूर्ण कामको जिम्मेवारी दिन पाएकामा खुसी व्यक्त गर्दै मन्त्री पौडेलले सहकार्यको संस्कारले स्वदेशी संस्था र जनशक्तिलाई राज्यले विश्वास गरेको देखिने बताए ।

सो अवसरमा केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा आविष्कार केन्द्रले अर्को महत्त्वपूर्ण जिम्मेवारी पाएको प्रतिक्रिया दिए । ‘यो जिम्मेवारी भनेको संघीय सरकारअन्तर्गत रहेका अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकल उपकरण मर्मत गर्ने तथा ती उपकरणको अवस्था के–कस्तो छ भनी यकिन गर्ने हो,पुनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च