राष्ट्रपति पौडेलद्वारा रणउजिरेश्वरी मन्दिरमा आज पूजाअर्चना

भदौ ११,
पाल्पा – राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा पूजाअर्चनाका साथै रथयात्रा अवलोकन गर्नुभएको छ ।

पाल्पाको रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति पौडेल पाल्पाको तानसेन आउनुभएकाे थियाे । जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुग्नुभएको थियो ।

यस्तै राष्ट्रपति पौडेलले नेपाली सेनाको दि फेमस महिन्द्र दल गणको निरीक्षण गर्नुका साथै पाल्पाका जनप्रतिनिधि र सरोकारवालासँग भेट गर्नुभयो । पूजाअर्चना र रथयात्रामा सहभागी भएर उहाँ आजै काठमाण्डाै फर्किनुभएकाे छ ।

नेपालले बुटवल जितगढी युद्धमा तत्कालीन इस्ट इण्डिया कम्पनीको अङ्ग्रेज फौजलाई हराएको सम्झनामा आज २०५ औं विजयोत्सव तथा भगवती रथयात्रा भएको हो । १८७१ र ७२ सालमा भएको युद्धमा तत्कालीन कर्णेल उजिर सिंह थापाको फौजले दुवै पटक अङ्ग्रेज फौजलाई पराजित गरेको थियो । लडाइँमा जानुअघि तत्कालीन कर्णेल थापाले भगवती मातासँग युद्ध जित्ने भाकल गरेको र लडाइँ जितेपछि सिन्दूरजात्रा गर्ने भाकलअनुसार हरेक वर्ष भाद्र कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सवसहितको भगवती रथजात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ ।

विजयोत्सवमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश अर्थमन्त्री धनेन्द्र कार्की, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, प्रदेश सभामुख तुलाराम घर्तीमगरलगायत पनि सहभागी हुनुभएकाे थियाे । विजयोत्सवका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज पाल्पामा सार्वजनिक बिदा थियो ।


भगवती जात्रा अवलोकनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पनि आएका छन्। अन्य प्रदेश मन्त्री, पाल्पाबाट निर्वाचित संघीय सांसद ठाकुर गैरे, नारायण आचार्य लगायत उच्च पदस्थ व्यक्तिले जात्रामा सहभागिता जनाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च