पाल्पा – रम्भा गाउँपालिकाले पुस ६ गतेदेखि सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा पाँच हजार १ सय ४४ जनाले सेवा लिएका छन् । भौगोलिक हिसाबले टाढा र विशेषगरी गाउँपालिका केन्द्रमा सेवा लिन आउन समस्या रहेका नागरिकलाई ध्यानमा राखेर आयोजना गरिएको शिविरमा नागरिकहरुको उत्साहपूर्ण सहभागिता रहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । उहाँले सबै अधिकार वडामा नरहेको र गाउँपालिका केन्द्रमा आएर सेवा लिनका लागि जनतालाई समय र आर्थिक रुपमा हुने झञ्झटबाट मुक्त गराउन वडास्तरमै सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत घुम्ती शिविर चलाइएको बताउनुभयो ।
गाउँपालिका भित्रका पाँच वटै वडामा आयोजना गरिएको घुम्ती शिविरमा आठ सय जनाले सबै रोगहरुको जाँच, उपचार, परामर्श र प्रेषण स्वास्थ्य सेवा लिएका छन् । यस्तैगरी एक सय ३३ जनाले प्रयोगशाला सेवा, ९ जनाले शंकास्पद क्षयरोगीको खकार नमूना संकलन, दुई सय ७८ जनाले पाठेघरको मुखको क्यान्सरको जाँच गराएका छन् । शिविरमा ८ जनाले पाठेघर खसेकोमा रिङ्ङ्ग प्रेसरी राखेको, एक सय ३२ जनाले सेतो पानी बग्ने तथा यौन रोग समस्याको उपचार गराएको, ६ जनाले परिवार नियोजनको साधन आइयुसिडी र इम्प्लान्ट राख्ने तथा झिक्ने गर्नुका साथै १७ जना स्तनपान गराइ रहेका आमाहरुको लागि सतावरी चूर्ण वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सबै रोगहरुको जाँच, उपचार परामर्श र प्रेषण आयुर्वेद सेवातर्फ चार सय ९७ जनाले सेवा लिएको बताउनुभयो ।
यस्तै शिविरमा ४१ जना मोति विन्दु निदान भएकाहरुका लागि निशुल्क शल्यक्रियाका लागि प्रेषण गरिएको, नौ सय १ जनाको आखाँ जाँच, उपचार, परामर्श र प्रेषण गरिएको सूचना अधिकारी सुरज पाठकले बताउनुभयो । यसका साथै ५० जना विपन्न तथा असहाय विद्यार्थीका लागि छात्रवृत्ति वितरण, एक हजार तीन सय जनालाई कृषि प्रविधि सम्बन्धी सल्लाह तथा बीउ विजन वितरण, आठ सय ५९ जनालाई पशुपन्छी सम्बन्धी सल्लाह तथा परामर्श र औषधि वितरण, ५ जनालाई अपाङ्गता परिचय पत्र वितरण, १६ जना ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ८० वटा योजना सम्झौता र व्यवसाय दर्ता तथा नविकरण सेवा उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभयो ।