पाल्पा – तिनाउ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले चौमासिक प्रतिवेदनको समग्र प्रगति तथा आम्दानी खर्च सार्वजनिक गर्दै प्रथम चौमासिकमा १३ दशमलव ८६ प्रतिशत प्रगति प्राप्त भएका् जानकारी गराउनुभयो । उहाँले चालु आर्थिक वर्षमा पालिकाले ५४ करोड २० लाख ८४ हजार रुपैया विनियोजन गरेकोमा हालसम्म ७ करोड ५१ लाख ४१ हजार मात्र खर्च गरेको बताउनुभयो । जसमा चालु तर्फ ७ करोड २७ लाख ८९ हजार खर्च गरी १९ दशमलव ५५ र पुजीगत तर्फ २३ लाख ५२ हजार रुपैया खर्च गरी एक दशमलव ३९ प्रतिशत मात्र प्रगति हासिल गरेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरुले वर्षायामदेखि बन्द भएका गाउँठाउँका बाटोहरु हालसम्म पनि मर्मत सम्भार नभएको, विरामी बोक्ने एम्वुलेन्स आफै विरामी भएर पालिका अगाडि नै थन्किएको, कृषि एम्वुलेन्स पाँच महिना देखि विग्रिएर बन्द भएको, कर्मचारीहरु बिच तालमेल नहँुदा जनताको काममा समस्या भएको गुनासा राखेका थिए । यसैगरी वडा वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको, बन्चरेडाडाको पहिरोको कारण बस्ती नै जोखिममा परेको बताउदै गाउँपालिकाको सार्वजनिक सुनुवाइमा आएका सुझाव, प्रश्न र गुनासालाई आत्मसाथ गरेर दैनिक सेवा प्रवाहमा सुधार ल्याउनुपर्नेमा जोड दिएका थिए । यस्तैगरी सेवाग्रहीले पूर्वाधार निर्माणका काममा गुणस्तरीयतालाई ख्याल नगरेको, गुणस्तरीय शिक्षामा ध्यान नदिएको, किसानहरुसंग सहकार्य गरेर काम नगरेको, खानीबाट आउने राजस्वहरु समयमा नउठाएको बताएका थिए ।
नागरिकले उठाएका प्रश्न, सुझाव र जिज्ञाशाका विषयमा गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सीमित बजेटबाट एकैपटक जनताका असीमित अपेक्षा पूरा गर्न नसकिएको बताउनुभयो । उहाँले क्रमिक रुपमा तिनाउका नागरिकले महसुस गर्नेगरी आवश्यकता पूरा गरिने बताउनुभयो । गाउँपालिका भित्र आर्थिक शुसासन, पारदर्शीता कायम राख्न आफू प्रतिबद्ध भएर लागेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । आफूहरुले जानेर गल्ती नगर्ने र काम गर्दा समस्या देखिए तत्काल सुझाव सल्लाह राखेर गाउँपालिकाको विकासमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो । पछिल्लो समय गाउँपालिकाले कृषि उत्पादन बढाउन, राजश्व वृद्धि गर्न, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणदेखि होमस्टे सञ्चालनमा जोड दिएको समेत अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।
यस्तैगरी कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँर्दै प्रमुख प्रशासकीय अधिकृत बस्नेतले प्रदेश लोकसेवा आयोगले कर्मचारी प्रयाप्त नदिँदा पालिकाभरी नै वडा सचिवको अभाव भएको, पालिकामै कर्मचारी प्रयाप्त नहुँदा सेवा प्रवाहमा कठिनाई भएको, खर्चमा कानुन अनुसार मितव्ययीता अपनाएको, अधिकांश योजनालाई टेण्डर प्रक्रियाबाट सञ्चालन गरिएको, आगामी दिनमा सेवाग्रहीलाई सहजताको लागि समय सीमा तोकेर योजना अनुगमन गरिने बताउनुभयो ।
नेपाली काग्रेस तिनाउ गाउँ समितीका सभापति प्रेम पाण्डे, नेकपा एमाले तिनाउ गाउँ कमिटी अध्यक्ष रोम बहादुर लम्तरी, नेकपा माओवादी केन्द्र तिनाउकी संयोजक रितु कुमारी श्रेष्ठले जनताप्रति उत्तरदायी भएर, शुसासनलाई प्राथमिकतामा राखेर चुनावी घोषणपत्र अनुसार काम गर्न सुझाव दिनुभएको थियो । कार्यसम्पादनका विषयमा विषगत शाखालाई आएको प्रश्नका विषयमा शाखाका प्रमुखहरुले जवाफ दिनुभएको कार्यक्रमको सहजीकरण पाल्पा विकास केन्द्रका संयोजक किरण कौशलले गर्नुभएको थियो ।