भगवती पाण्डे,बुटवल, चैत्र १८
मनोज भण्डारी बुटवलका एम्वुलेन्स चालक हुन् । तिनमहिना यता विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल पनि ठप्प छ । भारत तथा तेश्रो मुलुकहरुमा कोरोना भाइरस संक्रमण फैलिन थालेपछि रोजगारी तथा अध्ययनको लागि त्यहां पुगेका नेपालीहरु नेपाल फर्किइरहेका छन् ।
कोरोना संक्रमण फैलिएका मुलुकबाट आएका व्यक्तिमा संक्रमण भएको हुनसक्ने र उनीहरुबाट अरु व्यक्तिमा समेत फैलिनसक्ने भन्दै सरकारले देशभर लक डाउन घोषणा गरेको छ । जसको कारण यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय सबै ठप्प छ ।
सर्वसाधारण पनि अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन सकेका छैनन् । तर मनोजको व्यस्तता भने पहिले भन्दा लक डाउन शुरु भएपछि बढेको छ । गम्भिर अवस्थाका मात्र होईन र सामान्य अवस्थाका विरामीलाई अस्पताल लैजाने र अस्पतालबाट डिस्चार्ज गरिएका विरामीलाई घर पु¥याउने कामका कारण उनलाई रातदिन फुर्सद छैन ।
सरकारले लक डाउन घोषणा गरेपछि पनि उनले कैयौं पटक काठमाण्डौ, कपिलबस्तु, दाङ, प्युठान, नेपालगञ्ज, सुर्खेत, बाग्लुङ, पाल्पा, गुल्मी लगायतका विरामी बोके ।
कहिले यताका बिरामी काठमाण्डौ पु¥याए कहिले काठमाण्डौका अस्पतालले डिस्चार्ज गरेका बिरामी बोकेर बिरामीका घर घर पु¥याए ।
कोरोनाको संक्रमण हुनसक्ने डरले लक डाउन घोषणा हुनासाथ कतिपय एम्वुलेन्स चालकले मोवाईल स्वीच अफ गरेर घर बसे, तर मनोज घर बसेनन् बिरामीको उद्धारमा लागिरहे ।
करिब दशवर्ष अरु सवारीसाधन चलाएका मनोजले एकवर्ष देखि सुरक्षित यात्रा अभियान नेपालको एम्बुलेन्स चलाउन शुरु गरेका हुन् । लामो समय अरु सवारी साधन चलाएको अनुभव भएपनि बिरामी बोकेर एम्बुलेन्स चलाउंदा उनलाई समाजसेवा गरेको अनुभुती हुदै गएको थियो । तर लक डाउन शुरु भएपछि भने उनलाई अव बिरामी बोकौं की नबोकौं भन्ने दोधार बनाएको छ ।
एकसाता अघि उनी कृष्णनगरबाट बिरामी बोकेर काठमाण्डौ गए, काठमाण्डौको एउटा अस्पतालमा विरामी छोडेपछि उनले गंगालाल अस्पतालले डिस्चार्ज गरेको बिरामीलाई बुटवल ल्याए । बुटवल आईपुगेका के थिए बुटवलको अस्पतालबाट डिस्चार्ज गरेको विरामी बोकेर गुल्मी जानुपर्ने भयो ।
अरु सवारीसाधन केहि नचलेको अवस्थामा एम्बुलेन्स चालक भईसकेपछि भर्खरै आएको छु जांदैन भन्नुभएन बिरामीलाई गुल्मी पु¥याएर सोहि दिन बुटवल फर्किए । यता बाग्लुङ कुश्मीसेराका एकजना विरामी बुटवलकै अस्पतालबाट डिस्चार्ज भएका विरामीले मनोजलाई पर्खिईरहेका थिए बुटवल आएर भुईमा नझर्दै बाग्लुङतर्फ हिडिहाले
।
कृष्णनगर—काठमाण्डौ, काठमाण्डौ—बुटवल, बुटवल—गुल्मी, गुल्मी—बुटवल, बुटवल—बाग्लुङ र बाग्लुङबाट फर्किएर बुटवल आईपुग्दा ४ दिन बितिसकेको थियो । यो अवधीमा उनले नमिठो अनुभव संगाले ।
लक डाउनका कारण होटल, पसल सबै बन्द थिए । अस्पतालका क्यान्टीन समेत बन्द हुंदा खाना खान पाएनन् । चारदिन सम्म बिस्कुट र पानी पिएर विभिन्न जिल्लाका विरामी बोकेर हिडिरहे । “अप्ठ्यो अवस्थामा विरामी बोकेर हिड्न पाउंदा आनन्द लाग्थ्यो, तर खाना खानै पाईएन ।” उनले भने । “म जस्तै सबै एम्वुलेन्स चालकको पिडा एउटै हो, घर छोडेर निस्किएपछि खाना खान पाइदैन, कहिकतै पसल खुलेको देखिए बिस्कुट र चाउचाउ किनेर एम्बुलेन्समा राख्छु भोक लाग्यो भने त्यसैले भोक मेटाउंछु ।” उनले भने ।
विरामी बोकेर बाहिर हिड्दा खान नपाईने मात्र होईन अहिले त घरमा समेत नआउनु भन्न थालेको उनी बताउंछन् । “परिवारले समेत कस्तो विरामी बोकेर आएको हो, कोरोनाको भाइरस पो छ की, बरु उतै कोठामै बस्ने गर्नु भन्न थाले ।” उनले भने ।
मनोजलाई कोरोना संक्रमणको त्रास नसकिदासम्म घर गएर खाना खाउँला भन्ने पनि लाग्न छोडेको छ । “घर परिवारले भन्दा पनि छिमेकीले एम्वुलेन्स चलाउने मान्छे यो अवधीभर त नआए हुन्थ्यो भन्छन् ।” मनोज भन्छन् ।
यता भाडामा लिएको कोठामा पनि घरधनीले उनलाई केहि दिन नआउनु भन्न थालेका छन् । गत आईतवार राती गौतमबुद्ध सामुदायिक मुटु अस्पताल अगाडी एम्वुलेन्स राखेर त्यसैमा रात बिताए । एम्बुलेन्सभित्र यत्तिकै रात बिताउंदा लामखुट्टेले टोकेर हैरान पारे, रातभरी निद्रा लागेन त्यतिकै पल्टिएर रात बिताए । “बिहानै दाङको लमही जानुपर्ने भयो, अनिदो भएपनि बिरामीको पिडा सुन्दा जान्न भन्न सकिन ।” उनले भने ।
झण्डै १४ वर्षदेखि एक्स आर्मी वेलफेयर सोसाईटीको एम्बुलेन्स चलाउंदै आएका सैलेन्द्र थापाको पनि पिडा उस्तै छ । झण्डै डेढदशकको एम्बुलेन्स चलाएको अनुभव लिएका थापा अहिलेजस्तो असहज अवस्था कहिल्यै नभोगेको बताउंछन् ।
६२÷६३ को जनआन्दोलनताका बाटै एम्बुलेन्स चलाउन शुरु गरेका थापाले विभिन्न आन्दोलन, बन्द हड्ताल, चक्काजाम, नाकाबन्दी सबै समयमा एम्बुलेन्स चलाएर विभिन्न जिल्ला पुगेका थिए । बन्द हड्तालमा समेत एम्बुलेन्स चालकलाई बास र खाना खाजाको कुनै समस्या नहुने गरेकोमा अहिले भने दुईतिन दिन सम्म लगातार एम्बुलेन्स चलाएपनि भोकै बस्नुपर्ने बाध्यता रहेको बताउंछन् ।
तिनदिन पहिले अस्पतालले डिस्चार्ज गरेको विरामी बुटवलबाट बाग्लुङको खरबाङ पुगेका उनी थर्मसमा लिएर गएको पानी र बिस्कुटकै भरमा डेढ दिनपछि बुटवल आएको बताउंछन् । “नेपाल बन्द र नाकाबन्दीको बेला त खाना खान पाईन्थ्यो, तर अहिले त भोकै कुद्नु परेको छ ।” शैलेन्द्रले भने ।
“घरमा खाना खान एम्वुलेन्स लिएर जांदा पनि टोल छिमेकका मान्छे तर्सिन्छन्, कस्ता बिरामी लिन आए या कस्ता बिरामी छोड्न आए भनेर स्थानीयले कौशी र झ्यालबाट चियाउंछन् ।” उनले भने ।
अहिले त एम्बुलेन्स देख्यो की बालबालिकाले समेत कोरोनाको विरामी बोकेर हिडेको एम्बुलेन्स पनि कोरोना भन्दै जिस्काउने गरेको उनले बताए । “आफुले जानेको पेशा नै यहि हो, एम्बुलेन्स चलाउनु पेशा मात्र नभएर सेवा हो, तर हामीलाई देख्यो की कोरोना आयो, कोरोना भाइरस कहां हिडेको छस् भन्दै जिस्काउंछन् ।” उनले भने ।
रामप्यारीको एम्बुलेन्स चलाउंदै आएका चुरामणी बस्याललाई पनि अस्पतालका क्यान्टिनहरुले समेत बाहिरै बसेर खानुस् भन्न थालेपछि नमिठो लाग्न थालेको छ । मुटुको समस्याका विरामी लिएर काठमाण्डौबाट धनगढी पुगेका बस्याल मंगलबार कोहलपुर फर्किदै थिए । काठमाण्डौदेखि बुटवल आएर खाजा खाएका उनले कोहलपुर अस्पतालको क्यान्टिनमा आएर बल्ल खाजा खान पाएको बताए ।
“अहिले त साह्रै गाह्रो छ, विरामीको पीडा देखेर जान्न भन्न पनि भएन, हाम्रो पेशा पनि यस्तै सेवागर्ने भयो, तर खाना र खाजा खान नपाउंदा भने भोकै मरिने भईयो ।” उनले भने ।
दिनरात भोकै र प्यासै नभनी विरामी बोकेर दौडिरहने एम्बुलेन्स चालकहरु यतिबेला आफैभने जोखिममा रहेका छन् । कोरोनाको त्रास फैलिरहेका बेला उनिहरु कुनै सुरक्षित सामाग्री विना मास्कको भरमा बिरामी बोक्न बाध्य छन् ।
ज्वरो आएका र सामान्य रुघाखोकी लागेका विरामीहरुलाई समेत अस्पतालले उपचार नगरी फर्काईदिने गरेका समाचार बाहिर आईरहेका बेला आफुहरुले भने हातमा ग्लोभ्स र पिपिई नहुंदा जोखिम मोलेर विरामी उठाउने गरेको चालकहरु बताउंछन् ।
सोमबार बसेको प्रदेश ५ मन्त्रीपरिषद् बैठकले एम्बुलेन्स चालकहरुलाई पिपिई लगायतका सुरक्षा सामाग्री उपलब्ध गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई जिम्मेवारी तोकेपनि हालसम्म आफुहरुले कुनै सामाग्री नपाएको उनीहरुले बताए ।