काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानको मर्मतकार्य थालेको छ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबारबाट मैदानको मर्मत थालेको जानकारी दिए ।
शेर्पाले चैतको समयमा मैदानमा पानी नहाल्दा घाँस मर्ने भएकाले सरकारले ‘लकडाउन’ नै गरेको भएपनि रंगशालाकै कर्मचारीलाई प्रयोग गरेर मर्मत थालेको बताए ।
उनले तीनजनाले मैदानको घाँस काट्ने, सम्याउने र पानी हाल्न थालेको बताए ।
शेर्पाले मैदानको घाँस जोगाउनका लागि पनि यो कदम चाल्नुपरेको बताए ।
उनले घाँस जोगाउन नसके फेरि रोप्नका लागि लाखौं खर्च गर्नुपर्ने भन्दै अहिले नै बचाउन लागिपरेको बताए ।
कोरोनाभाइरसको संक्रमण बढिहाल्यो भने पनि उक्त स्थानलाई ‘क्वारेन्टाइन’मा समेत दिन सकिने शेर्पाको भनाइ छ ।
एन्फाले आफू मातहतका भौतिक पूर्वाधारलाई आवश्यक परे क्वारेन्टाइनमा दिने यसअघि नै बताइसकेको छ ।
दशरथ रंगशालामा आसन्न विश्वकप छनोट फुटबलका तीन खेल खेल्न बाँकी छ । विश्वकप छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग ‘होम’ खेल खेल्दैछ । ‘अवे’ खेल भने खेलिसकेको छ ।