कृष्ण परियार ।
भैरहवामा प्रदेश नम्बर ५ को सुविधासम्पन्न कोरोना विशेष उपचार अस्पताल निर्माण भइरहेको छ । रुपन्देही जिल्लाको सबैभन्दा पुरानो अस्पताल भीम अस्पताल भैरहवालाई अहिले प्रदेश ५ कै कोरोना विषेश अस्पतालको रुपमा विकास गरिन लागेको हो । कोरोना भाइरस पोजेटिभ देखिएका बिरामीलाई उपचार गर्नेगरी उपकरणहरु जोड्ने काम भइरहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।
अहिले अस्पतालमा कोरोना लागेका विरामीको लागि विशेष उपचार कक्ष बनाइँदै छ । तीनवटा भेन्टिलेटरसहित ५ बेड आईसीयू रहेको उक्त अस्पतालमा जम्मा ३५ बेड रहनेछन् ।
कोरोना विशेष अस्पताललाई छिट्टै सञ्चालनमा ल्याउन प्रदेश सरकारका सामजिक विकास मन्त्री सुदर्शन बराल लागिपरेका छन्। उनी दैनिक अस्पताल निर्माण कार्यको निरीक्षणमा आउने गरेका छन् ।
कोरोना विशेष उपचार अस्पताल अवको केहिदिन भित्रै सञ्चालनमा आउने भीम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेन्ट डांं। नविन दर्नालले बताए । उनले भने, ‘हामीले रातदिन लगाएर काम गराइरहेका छौं । अहिलेसम्म भौतिक पूर्वाधारको काम सम्पन्न भइसकेको छ । उपकरणहरु जडान हुँदैछन् । थप जनशक्ति व्यवस्थापनको लागि अहिले तालिम सञ्चालन भैरहेको छ ।
कोरोना विशेष उपचार अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सक, १० जना मेडिकल अधिकृत र १६ जना स्टाफ नर्स विरामीहरुको उपचार तथा चेकजाँचको लागी खटिने छन् । अस्पतालमा अहिले ८ जना चिकित्सक कार्यरत छन् ।
केहि दिन अगाडि बाट भैरहवामै स्वाब परीक्षण गर्ने प्रयोगशाला गहुँबाली अनुसन्धान केन्द्रमा सञ्चालनमा आइसकेको छ ।अहिले सम्म प्रदेश ५ मा १३२ जनामा कोरोना नेगेटिभ देखिएको छ भने ५६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश ५ भित्र विभिन्न स्थानमा गरी ४ ओटा कोरोना विषेश अस्पतालहरु संचालन गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो । प्रदेश सरकारको निर्णय अनुसार अहिले अस्पताल संचालनको लागी जनशक्ति व्यवस्थापन देखि भैतिक निर्माण तथा उपकरणहरु जडानको काम भैरहेको छ ।