काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को आज स्थापना दिवस । नेविसंघले अध्ययनका लागि डेरामा बसेका विद्यार्थीहरूलाई सहयोग गर्नुका साथै विभिन्न कार्यक्रमहरू गरी ५१औं स्थापना दिवस मनाइरहेको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले गत बिहीबार सर्कुलर जारी गर्दै जिल्ला समिति र क्याम्पस एकाइहरूलाई कोरोना भाइरसका कारण डेरामा रहेका विद्यार्थीलाई सहयोग गरेरस्थापना दिवस मनाउन निर्देशन दिएका थिए ।
स्थापना दिवसको अवसरमा नेविसंघले आज सामाजिक सञ्जालमार्फत् कोरोनाविरुद्ध जनचेतना फैलाउने, रक्तदान कार्यक्रम गर्ने र संघका नेता, कार्यकर्ता, मातहतका निकाय तथा मातृ पार्टीसँग भर्चुअल अन्तर्क्रिया पनि गर्ने भएको छ ।
रक्तदान, राहत वितरण, सचेतना अभियानलगायत कार्यक्रम स्थानीय प्रशासनसँग समन्वय गरी सामाजिक दूरी कायम गरेर आयोजना गर्न लागिएको अध्यक्ष ढुंगानाले जानकारी दिएका छन् ।
उनले शनिबार बिहान एक वक्तव्य जारी गरेर स्थापना दिवसको शुभकामनासमेत दिएका छन् ।